काठमाडौँ । ५ बैशाख – सिरियाको दोमा क्षेत्रमा अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल विपन्सका अनुसन्धानकर्तालाई निरीक्षणका लागि जान दिइने रुसले बताएको छ ।
रासायनिक हमला भएको पूर्वी गुटाको दोमा सहरमा अप्रिल ७ का दिन राजधानी दमास्कस नजिकै शंकास्पद रासायनिक हमला भएको र त्यो हमलाको पछाडि सरकारको संलग्नता रहेको भन्ने विषय बाहिरिएपछि रासायनिक हतियारका विज्ञसहितको ओपिसिडब्लूको टोली शनिबार नै दमास्कस पुगेको भए पनि सुरक्षाको कारण उनीहरु दोमा सहरको आसपास जान नसकेको बताइएको छ ।
अमेरिकी अधिकारीहरुले भने सिरियाको प्रमुख सहयोगी रुसले दोमा सहरमा भएको रासायनिक हमलाको प्रमाण लुकाउन खोजेको भन्दै त्यस विषयमा आवाज उठाएका छन् । सरकारले भने दोमा सहरमा अप्रिल ७ मा भएको भनिएको रासायनिक हमला पश्चिमा देशले बनाएको कपोकल्पित कहानी भएको र त्यहाँ त्यस्तो प्रकारको हमला नभएको बताएको छ ।
सिरियामा रहेका विपक्षी अधिकारवादी, चिकित्सकीय संघसंस्था र उद्दारकर्ताले भने सरकारी युद्धक विमानले विद्रोहीको अन्तिम नियन्त्रणमा रहेको दोमा सहरमा विषालु ग्यासले भरिएको रासायनिक ब्यारेल बम खसाल्दा ४० जनाको मृत्यु भएको बताएका छन् ।
स्रोत र आफ्ना गुप्तचर निकायको सूचनाका आधारमा दोमा सहरमा क्लोरिन ग्याससहित हानिकारक ग्यास प्रयोग भएको विषयमा आफूहरु पूर्ण विश्वस्त रहेको संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्सले बताएका छन् । सिरियाली सरकारको रासायनिक हतियार कार्यक्रमविरुद्ध भन्दै अमेरिका, फ्रान्स र बेलायतले शनिबार सिरियामा हवाई हमला तथा क्षेप्यस्त्र आक्रमण गरेका थिए ।
यसैबीच सिरियाको राज्य सञ्चालित सञ्चारमाध्यमले भने ओपिसिडब्लूका निरीक्षकहरु दोमा सहर आइपुगेको विवरण सार्वजनिक गरेका छन् तर ओपिसिडब्लूले भने कुनै पुष्टि गरेको छैन । रुस र सिरियाले दोमा सहरमा सुरक्षा प्रत्याभूत नभएको भन्दै ओपिसिडब्लूका प्रतिनिधिलाई त्यहाँ जान नदिएको उक्त निकायका निर्देशकले जानकारी दिए ।
रासायनिक आक्रमण भएको भनेर आरोप लगाइएको क्षेत्रमा नै रहेका २२ जना सर्वसाधारणसमक्ष ओपिसिडब्लूका निरीक्षकहरुलाई अन्तर्वार्ता लिनका लागि मौका दिन लागिएको सिरियाली अधिकारीहरुले दाबी गरेका छन् ।