एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री
शिक्षाखबर डेस्क
१३ माघ २०७९, शुक्रबार
no immg

१३ माघ, स्याङ्जा। स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट रू १४ करोड आम्दानी गरेको छ।

व्यावसायिकरुपमा सुन्तला खेती गरिरहेका किसानले ठेक्का तथा आफैँले बिक्री गरेर रू १४ करोडसम्म आम्दानी गरेका छन्। जिल्लामा सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला खेति गर्ने किसान १० नं वडामा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहनुभएका मुक्ति अधिकारीले जानकारी दिए।

“वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै हुनुहुन्छ, उहाँहरुले न्यूनतम ५० हजारदेखि अधिकतम पचाँस लाखसम्म आम्दानी गर्नुहुन्छ”, उनले भने।

रू पाँच–सात लाखदेखि १५–२० लाख आम्दानी गर्ने किसानको सङ्ख्या धेरै छ। किसानले बगैँचा नै ठेक्कामा दिने वा आफँ टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री गर्दछन्। कोदो तथा मकै खेतिबाट जीविकोपार्जन गरिरहेका किसानले हाल व्यावसायिक रुपमा सुन्तला खेति गरेर बर्सेनि लाखौँ भित्र्याइरहेका छन्।

सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरुले नयाँ बोट थप्नेका छन्। अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने उनको भनाइ छ।

गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढेपनि बजार मूल्य गत वर्षको जति पनि नहुदा अपेक्षा अनुसारको आम्दानी लिन नसकिएको किसानहरु बताउछन्। प्रतिकेजी रू ५५ बाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकेजी रू ९० मा बिक्री भइरहेको छ।

अपेक्षाअनुसार बजार मूल्य नपाएपछि शीतभण्डार गरेर बिक्री थालिएको थियो। तर व्यवस्थापकीय कमजोरीका कारण शीतभण्डारमा सुन्तला कुहिएपछि किसानहरु थप मर्कामा परेका छन्। जिल्लामा यस वर्ष रू एक अर्ब २५ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै