‘मूल्य नपाएर उत्पादन सडकमा फाल्न नपरोस्’
शिक्षाखबर डेस्क
२२ माघ २०७९, आईतवार
no immg

२२ माघ, काठमाडाैँ। अखिल नेपाल किसान युनियनले तरकारीको न्यूनतम लाभकारी मूल्य तोक्दै बजारको समस्या समाधान गर्नुपर्ने माग गरेको छ । युनियनले नेपाली किसानप्रति राज्यको निरन्तर उदासिनता, आलेटाले र गलत नीतिका कारण आफ्ना उत्पादनको उचित मूल्य नपाएर लागतसमेत नउठ्ने अवस्थाको बारम्बार सिकार हुँदै आएको भन्दै निश्चित मूल्य निर्धारण गर्नुपर्नेमा माग गरेको हो ।

पछिल्लो समय पुनः चितवनका तरकारी उत्पादक किसानले आयातित तरकारीका कारण आफ्नो उत्पादनको लाभकारी मूल्य नपाएको विरोधमा सडकमा तरकारी फालेर सङ्घर्ष गर्न बाध्य भएका छन् । “अखिल नेपाल किसान युनियन तरकारी किसानको यो आन्दोलनप्रति गम्भीर छ र यस आन्दोलनको समर्थन गर्दै राज्यले किसानको तरकारीको समर्थन मूल्य तोकेर तुरुन्त लागू गरोस् र यसरी किसानले मूल्य नपाएर आफ्नो उत्पादन सडकमा फाल्नुपर्ने स्थिति सिर्जना नहोस् भन्ने जोडदार माग गर्दछ”, युनियनद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

युनियनले नेपालको जैविक र भू–धरातलीय विविधता तथा विषम हावापानीका कारण नेपाल तरकारीमा आत्मनिर्भर हुनसक्ने र गुणस्तरीय अग्र्यानिक तरकारी उत्पादन गरेर उच्च मूल्यमा निर्यात गर्न सक्ने स्थितिमा रहेको कुरालाई बेवास्ता गरेर किसान र राष्ट्रले आम्दानी गर्न सक्ने ठूलो सम्भावना खेर गइरहेको स्थितिसमेत औँल्याएको छ । राज्यसँग तत्कालीन र दीर्घकालीन किसानमैत्री नीति अख्तियार गरी किसानका समस्या हल गर्न र किसानहरूको नोक्सानीको क्षतिपूर्ति दिएर भर्पाइ गर्न पनि युनियनको माग छ ।

प्रतिक्रिया