‘छोरी पढाऔँ : गरिमा बढाऔँ’, विपन्न बालिकालाई छात्रवृत्ति प्रदान
शिक्षाखबर डेस्क
२६ माघ २०७९, बिहीबार
no immg

२६ माघ, काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले ७ कक्षामा अध्ययनरत् दलित समुदायका विपन्न परिवारका ३४ बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ ।

‘छोरी पढाऔँ : गरिमा बढाऔँ’ भन्ने आह्वानसहित समाजले ३४ बालिका प्रत्येकलाई रु १२ हजारका दरले रु चार लाख आठ हजारको छात्रवृत्ति प्रदान गरिएको सभापति रामकृष्ण बरालले जानकारी दिए । मोरङ जिल्लाको कटहरी गाउँपालिका, थलाहास्थित श्री जनता माविका २७ र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती माविका सात गरी ३४ बालिकालाई वर्ष २०७९ को छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

पाँच वर्षे छात्रवृत्ति अभियानअन्तर्गत पहिलो वर्ष २०७८ मा ६ कक्षामा अध्ययनरत ३७ बालिकालाई छात्रवृत्ति प्रदान गरिएकोमा सोमध्ये यस वर्ष तीन जनाले विद्यालय परित्याग गरेको हुँदा ३४ बालिकालाई प्रदान गरिएको हो । समाजले प्रारम्भ गरेको बालिका छात्रवृत्ति अभियानअन्तर्गत पाँच वर्षसम्म अर्थात १० कक्षा पुगुन्जेलसम्म यिनै बालिकालाई रु १२ हजारका दरले छात्रवृत्ति प्रदान गरिने छ ।

पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तक रामप्रसाद जोशीले दुई, अनुजा खनालले दुई जना, संवत थापाले दुई र उर्मिला पराजुलीले दुई जनालाई सहयोग प्रदान गरेका समाजले जनाएको छ ।

प्रतिक्रिया