भारतीय दूतावासद्वारा डायलासिस उपकरण हस्तान्तरण
शिक्षाखबर डेस्क
८ फाल्गुन २०७९, सोमबार
no immg

८ फागुन, काठमाडाैँ। भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ ।

सोमवार आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री पद्म गिरीलाई उपकरण हस्तान्तरण गरेका हुन् ।

राजदूत श्रीवास्तबले नेपाल सरकारले १ वर्षअघि माग गरेको मशिन अहिले उपलब्ध गराएको बताए । उनले उपलब्ध डायलासिस मशिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यी मशिनले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने विश्वास दूतावासको छ । नेपाल र भारत सरकारको सहकार्यमा विकासका काम भइरहेका छन्, सोही क्रममा नेपाल भारतमैत्री ट्रमा अस्पताल, बीपी कोइराला अस्पताल र विभिन्न परियोजनाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगको काम भइरहेको छ ।’

उनका अनुसार सन् २००३ देखि साना परियोजनामार्फत भारत सरकारले नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको छ । उनले अहिले भारत सरकारले सिरहादेखि सिन्धुलीसम्म विभिन्न १० प्रकारका परियोजनामार्फत काम गरिरहेको बताए ।

‘भारत सरकारले नेपाल सरकारलाई विभिन्न समयमा ९५० एम्बुलेन्स उपलब्ध गराएको छ । छिट्टै थप एम्बुलेन्स उपलब्ध गराई एम्बुलेन्सको संख्या १ हजार पुर्‍याउनेछौं,’ उनले भने ।

मन्त्री गिरीले भारत सरकारबाट उपलब्ध भएको सहयोगप्रति आभार प्रकट गरे । उनले भने, ‘धेरै मिर्गौला बिरामीले समयमा डायलासिस सेवा पाउन सकेका छैनन् । भारत सरकारले उपलब्ध गराएको उपकरणलाई आवश्यक ठाउँमा पुर्‍याउँछौं र यसले बिरामीलाई सहज उपचारमा सहयोग पुग्नेछ ।’

उनले भारत सरकारले भूकम्पको समयमा र कोभिड–१९ महामारीको समयमा गरेको सहयोगको प्रशंसा समेत गरे । ‘भारतको ‘छिमेकी प्राथमिकता नीति’ नेपालका लागि खुशीको कुरा हो, भारतीय सरकारको सहयोग निकै उल्लेखनीय छ,’ उनले भने ।

दूतावासले २०० थानमध्ये कार्यक्रममा २० वटा उपकरण उपलब्ध गराएको हो । बाँकी उपकरण छिट्टै नेपाल भित्रिने दूतावासले जानकारी दिएको छ । उपलब्ध उपकरणलाई आवश्यकताअनुसार विभिन्न अस्पतालमा वितरण गरिने मन्त्रालयकी सचिव देवीकुमारी गुरागाईंले जानकारी दिइन् ।

प्रतिक्रिया