समयमै उपचार पाउँदा भेडापालक किसान खुसी
शिक्षाखबर डेस्क
२२ फाल्गुन २०७९, सोमबार
no immg

२२ फागुन, काठमाडौँ । नियमित र समयमै भेडाबाख्राको उपचार गर्न पाएसँगै किसान खुसी भएका छन् । भेडाब्राखाले राम्रो चरनको व्यवस्थापन नहुनु, सुख्खा र चिसो मौसमले बिरामी भएका भेडाबाख्राको समयमै उपचार भएपछि यहाँका भेडापालक किसान खुसी भएका हुन् ।

छायाँनाथ रारा नगरपालिका–६ कोटिला गाउँमा सहयोगी हातहरूको समूह (सहास) नेपालको आर्थिक सहयोग, जिल्ला भेटेरिनरी तथा पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा र छायाँनाथ रारा नगरपालिकाको सहकार्यमा दुई हजार नौ सय भेडाबाख्राको उपचार गरिएको छ । किसानलाई भेडाबाख्राको उपचारका लागि अल्बेन्डाझोल, भिटामिन बी कम्प्लेक्स, यनोक्सियम, कोट्न, हिमेक्स, जेन्टामाइसियनजस्ता औषधि र विभिन्न रोगविरुद्ध निःशुल्क उपचार गरिएको थियो ।

जिल्लाकै भेडापालन पकेट क्षेत्र रहेको छायाँनाथ रारा नगरपालिका–६ मा गतवर्ष बिरामी भई दर्जनौँ भेडाबाख्रा मरेका थिए । गतवर्षको जस्तो स्थितिमा कृषकले क्षति नबेहोरेको सहास नेपालका परियोजना अधिकृत राजकुमार थापाले बताए । उहाँका अनुसार सो पकेट क्षेत्रमा २६ हजार भेडाबाख्रा भएकाले पुनः अर्को मुन्दु बस्तीमा पनि भेडाबाख्राको उपचार भइरहेको उनको भनाइ छ ।

छायाँनाथ रारा नगरपालिकाका भेडापालक स्थानीय हरिभक्त कार्कीले समयमै उपचार पाउँदा किसान खुसी भएको बताए । उनले भने, “यो वर्ष समयमै भेडाबाख्राको उपचार गर्न पाउँदा भेडा रोगको प्रकोपबाट बच्ने आशा जागेको छ ।”

छायाँनाथ रारा नगरपालिका–६ का भेडापालक कृषक चङ्ख बुढाले गतवर्ष बजारमा भेडाबाख्रा उपचारका लागि सदरमुकाम गमगढी बजारमा औषधि नपाउँदा रोगका कारणले तीन वटा भेडा मरेको बताए । “अहिले गोठमै आएर हाम्रा भेडाबाख्राको उपचार गर्न पाउँदा निकै सहज भएको छ, हामी धेरै खुसी भएका छौँ”,उनले भने ।

जिल्ला भेटेरेनरी तथा पशु कार्यालयका प्राविधिक हरिबहादुर खत्रीले जिल्लाको सबैभन्दा बढी भेडापालन छायाँनाथ रारा नगरपालिका–६ मा भेडा पालक कृषक धेरै भएकाले उक्त ठाउँलाई छनोट गरिएको बताए ।

प्रतिक्रिया