नेपाल शिक्षक सङ्घ मुस्ताङको अध्यक्षमा श्रेष्ठ
शिक्षाखबर डेस्क
२८ फाल्गुन २०७९, आईतवार
no immg

२८ फागुन, मुस्ताङ । नेपाल शिक्षक सङ्घ मुस्ताङको नवौँ जिल्ला अधिवेशनले गोविन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।

समितिको उपाध्यक्षमा खिमबहादुर गुरुङ, महिला उपाध्यक्षमा नभिना तुलाचन, सचिवमा विष्णु थकाली, सचिव (अर्थ)मा रामचन्द्र पराजुली, सहसचिवमा मनदेवी गौचन, देवराज पाण्डे, तुलप्रसाद गौचन, नीरज गौचन रहेका छन् । समितिका सदस्यहरूमा नवराज पौडेल, दीपक तुलाचन, भुविन्द्र गौचन, मानबहादुर चौधरी र रामचन्द्र उपाध्याय रहेका छन् ।

त्यस्तै प्रदेश प्रतिनिधिमा प्रमिश गौचन, महेश दबाडी, लक्ष्मी शर्मा र राम परियार रहनुभएको छ भने सङ्घ प्रतिनिधिमा राजु श्रेष्ठ, अनन्तराज आचार्य, शारदा शेरचन र रामचन्द्र अधिकारी रहनुभएको छ । यसअघि अधिवेशनको उद्घाटन सत्रमा तत्कालीन संविधानसभा सदस्य एवं पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीले मुस्ताङ जिल्लाको विकासको मुख्य आधार मुस्ताङी जनताको अथक मेहनत र लगनशीलता रहेको बताए ।

जिल्लाको विकास र समृद्धिको मुख्य संवाहक नै मुस्ताङी जनता भएको जनाउँदै नेपाली कांग्रेस मुस्ताङका सभापतिसमेत रहनुभएका गौचनले यहाँको समृद्धि र विकासमा कांग्रेस सधैँ साथमा रहने बताए । “विगत जे–जस्तो भए पनि अबको बाटो सकारात्मक छ, त्यही बाटोलाई पछ्याउँदै अघि बढ्नुपर्छ”, उनले भने ।

नेपाल शिक्षक सङ्घ गण्डकी प्रदेशका उपमहासचिव राजु श्रेष्ठले विगत लामो समयदेखि शिक्षकको पेसागत समस्या समाधान र शिक्षाको विकास गर्न सङ्घ निरन्तर लागिपरेको बताए ।

नेपाल शिक्षक सङ्घ मुस्ताङका निवर्तमान अध्यक्ष अनन्तराज आचार्यले विसं २०४७ वैशाख ३० गते जिल्लामा थोरै शिक्षकहरूको पहलमा सङ्घको स्थापना भएको बताए । उनका अनुसार श्री जनावाल मावि मार्फाका तत्कालीन प्रधानाध्यापक टेकबहादुर राणाको पहलमा सङ्घको स्थापना भएको थियो । कार्यक्रममा मुस्ताङको थासाङ गाउँपालिकाका उपप्रमुख सोमल हिराचन, सङ्घका वरिष्ठ सदस्य उदय नेपाली, शिक्षक माधवजी भण्डारीलगायतले बोलेका छन् ।

प्रतिक्रिया