विद्यालयमा स्मार्ट कक्षा हस्तान्तरण
शिक्षाखबर डेस्क
१३ असार २०८३, शनिबार
no immg

लमजुङ / लमजुङको बेँसीसहर नगरपालिका–२, भकुन्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको स्मार्ट कक्षा सञ्चालनमा ल्याइएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा ‘हुवावे स्मार्ट प्रविधि’ सामग्री हस्तान्तरण गरिएपछि स्मार्ट कक्षा सुरु गरिएको हो । हुवावे नेपाल, चिनियाँ दूतावास, सूचना तथा सञ्चार मन्त्रालय तथा नेपाल टेलिकमको सहकार्यमा कक्षाकोठामा डिजिटल बोर्ड र कम्प्युटर जडान गरी निर्माण गरिएको स्मार्ट कक्षाको बिहीबार औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. २ का वडाध्यक्ष मदनबहादुर रानालाई ‘स्मार्ट पेन’ प्रदान गरी स्मार्ट कक्षा हस्तान्तरण गर्नुभयो ।

विद्यालयमा आयोजित कार्यक्रममा काठमाडौँस्थित हुवावे टावरबाट समेत भर्चुअल माध्यममार्फत सहभागिता जनाइएको थियो । सो अवसरमा हुवावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेस्टर चेन, आर्थिक परामर्शदाता झु फेङ, एडभीका वरिष्ठ शिक्षा विशेषज्ञ जेफ्री तथा आरम्भ विद्यालयका अध्यक्ष नरेशप्रसाद श्रेष्ठलगायतले स्मार्ट कक्षाले शिक्षाक्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद बरालका अनुसार स्मार्ट कक्षा सञ्चालनका लागि हुवावे नेपालले विद्यालयलाई १० थान कम्प्युटर, एक एक थान ल्यापटप, प्रिन्टर र स्मार्ट बोर्ड तथा १५ वटा टेबुल उपलब्ध गराएको छ । साथै कक्षाकोठामा रङरोगन तथा कार्पेट व्यवस्थापनमा समेत सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

हुवावेले ‘इन नेपाल, फर नेपाल’ भन्ने नाराका साथ ग्रामीण क्षेत्रका विद्यार्थीलाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्ने उद्देश्यले स्मार्ट क्लासरुम स्थापना गरिएको जनाएको छ । यसले परम्परागत कक्षाकोठालाई अन्तर्वि्रmयात्मक डिजिटल शिक्षण प्रणालीमा रूपान्तरण गरी विद्यार्थीलाई आधुनिक प्रविधिमैत्री शिक्षामा पहुँच विस्तार गर्ने विश्वास गरिएको छ । विद्यालयमा स्मार्ट शिक्षण प्रणाली तथा डिजिटल लर्निङ सफ्टवेयरको प्रत्यक्ष प्रदर्शनसमेत गरिएको थियो ।

प्रतिक्रिया