काठमाडौं –नीजि विद्यालयको चर्को शुल्कवृद्धि फिर्ता गरिनुपर्ने माग राख्दै आन्दोलनरत प्रमुख चार विद्यार्थी संगठनले आज देशभरका प्याब्सन र एनप्याब्सनका कार्यालयमा तालाबन्दी गरेका छन् ।
डिल्लीवजारस्थित प्याब्सनको केन्द्रीय कार्यालय र कुपण्डोलस्थित एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए ।
त्यस्तै देशभरका प्याब्सन र एनप्याब्सनका जिल्ला कार्यालयमा पनि आजै तालाबन्दी गरिएको बस्नेतले वताए ।
विद्यार्थी संगठनले सरकारले जारी गरेको संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२ को ठाडै उल्लङ्गन गरि निजी विद्यालयले मनपरि शुल्क असुलेको आरोप लगाउंदै आएका छन् ।
अनेरास्ववियु,नेविसंघ ,अखिल क्रान्तिकारी,अखिल छैठौंलगायतका विद्यार्थी संगठन संयुक्त आन्दोलनमा छन् ।
उनीहरुले भोलि केन्द्रमा शिक्षा विभागमा तालाबन्दी र जिल्ला तहमा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रममा घोषणा गरेका छन्।