लुम्बिनी प्राविधिक र लखनऊ विश्वविद्यालयबिच शैक्षिक सहकार्य
शिक्षाखबर डेस्क
२८ असार २०८३, आईतवार
no immg

खजुरा / नेपाल र भारतबिच प्राविधिक तथा उच्च शिक्षाको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यका साथ नेपालगन्जस्थित लुम्बिनी प्राविधिक विश्वविद्यालय (एलटियू) र भारतको लखनऊ विश्वविद्यालयबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

यस सहकार्यले दुवै विश्वविद्यालयबिच प्राविधिक शिक्षा, संयुक्त अनुसन्धान, विद्यार्थी तथा प्राध्यापक आदानप्रदानलगायत विविध क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार गरेको एलटियूले जनाएको छ। लखनऊ विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्राडा. विनोदप्रसाद ढकाल र लखनऊ विश्वविद्यालयका उपकुलपति प्रा. जे.पी. सैनीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।

कार्यक्रममा लुम्बिनी प्राविधिक विश्वविद्यालयका डिन डा. नीरज केसी, अनुसन्धान निर्देशक डा. प्रदीप कर्ण, परीक्षा नियन्त्रक जेन्टिल गौतम तथा सेवा आयोग सदस्य कृष्णप्रसाद घिमिरेको उपस्थिति रहेको थियो। त्यसैगरी लखनऊ विश्वविद्यालयका इन्जिनियरिङ तथा प्रविधि सङ्कायका डिन प्रा. सत्येन्द्रपाल सिंह, र्‍याङ्किङ सेलकी निर्देशक प्रा. गीताञ्जली मिश्रा, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशक प्रा. आर.पी. सिंह तथा कम्प्युटर विज्ञान विभागका सहप्राध्यापक डा. सी.एल.पी. गुप्ता सहभागी रहनुभएको परीक्षा नियन्त्रक जेन्टिल गौतमले जानकारी दिनुभयो।

सम्झौता अनुसार दुवै विश्वविद्यालयबिच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, संयुक्त अनुसन्धान तथा अनुसन्धानमूलक प्रकाशन, पाठ्यक्रम विकास, प्रयोगशाला साझेदारी तथा नवप्रवर्तन प्रवर्धनका क्षेत्रमा सहकार्य गरिने उहाँले बताउनुभयो। साथै कृत्रिम बुद्धिमत्ता (एआई), डेटा विज्ञान, सूचना प्रविधि, साइबर सुरक्षा, डिजिटल रूपान्तरण, इन्जिनियरिङ तथा कम्प्युटर विज्ञानजस्ता आधुनिक प्रविधिमूलक विषयमा संयुक्त कार्यक्रम सञ्चालन गरिने गौतमले जनाउनुभयो।

त्यसैगरी ‘स्टार्टअप इन्क्युबेसन’ कार्यक्रममार्फत नयाँ सोच र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने, अनुसन्धानमा आधारित उद्यमशीलता विकास गर्ने तथा विद्यार्थीको व्यावहारिक सिप अभिवृद्धि गर्ने योजनासमेत सम्झौतामा समेटिएको परीक्षा नियन्त्रक गौतमको भनाइ छ।

सम्झौतापछि बोल्दै लुम्बिनी प्राविधिक विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोदप्रसाद ढकालले उक्त सहकार्य विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण अभियानमा महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले यसले विद्यार्थी, अनुसन्धानकर्ता तथा प्राध्यापकलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक अवसर उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो।

लखनऊ विश्वविद्यालयका उपकुलपति प्रा. जे.पी. सैनीले अन्तर्राष्ट्रिय शैक्षिक साझेदारीलाई आफ्नो विश्वविद्यालयले सदैव प्राथमिकता दिएको उल्लेख गर्दै नेपालसँगको यो सहकार्य दुवै देशका प्राज्ञिक समुदायका लागि लाभदायी हुने बताउनुभयो।

गौतमका अनुसार सम्झौताबाट स्नातक तहदेखि विद्यावारिधि (पिएचडी) तहसम्म अध्ययनरत विद्यार्थी तथा अनुसन्धानकर्ताले प्रत्यक्ष लाभ पाउने छन्। संयुक्त सुपरीवेक्षण, सिप विकास कार्यक्रम तथा अनुसन्धान सहकार्यले विद्यार्थीको शैक्षिक क्षमता अभिवृद्धि गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आवश्यक दक्षता विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दक्षिण एसियाली उच्च शिक्षामा सीमापार ज्ञान आदानप्रदानलाई प्रवर्धन गर्ने उद्देश्यले गरिएको यो सहकार्यलाई भविष्यमा संयुक्त डिग्री कार्यक्रम, अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना तथा भ्रमणकारी प्राध्यापक कार्यक्रमसम्म विस्तार गर्ने योजना रहेको दुवै विश्वविद्यालयले जनाएका छन्।

प्रतिक्रिया