‘भानु जयन्तीले भाषा संरक्षणमा प्रेरित गर्छ’
शिक्षाखबर डेस्क
२९ असार २०८३, सोमबार
no immg

रानी / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २१३ औँ भानु जयन्तीको अवसरमा शुभकामना व्यक्त गर्दै आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाली भाषा, साहित्य र राष्ट्रिय पहिचानलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

आइतबार जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले संस्कृत भाषामा रहेको रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी भानुभक्तले नेपाली भाषाको विकास तथा साहित्यलाई जनसाधारणसम्म पुर्‍याउन उल्लेखनीय योगदान दिएको उल्लेख गर्नुभएको छ ।

उहाँले भानुभक्तको ‘नेपाली भाषाको रामायण’, ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’ र ‘रामगीता’ लगायत कृतिले नेपाली साहित्यलाई समृद्ध बनाएको जनाउनुभएको छ । भाषा, साहित्य र संस्कृतिमार्फत राष्ट्रिय एकता तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्न भानुभक्तको योगदान ऐतिहासिक रहेको उहाँको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले भानु जयन्तीले नयाँ पुस्तालाई नेपाली भाषा, साहित्य र संस्कृतिप्रति आकर्षित गर्दै भाषा संरक्षण, सम्वर्धन र प्रवर्धनमा प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले साहित्यकार तथा स्रष्टाको सम्मान र प्रोत्साहनका लागि आयोजना हुने साहित्यिक कार्यक्रमले नेपाली साहित्यको विकास र विस्तारमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया