नेपाली क्रिकेट टोली र यसका समर्थकहरूका लागि एउटा उत्साहजनक खबर छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले विश्वकप छनोट प्रक्रियामा महत्त्वपूर्ण हेरफेर गरेसँगै नेपालले सन् २०२८ मा आयोजना हुने आईसीसी पुरुष टी–२० विश्वकप सहभागिताका लागि सोझै ग्लोबल छनोट (Global Qualifiers) खेल्ने अवसर पाएको छ। आईसीसीको नयाँ निर्णयले नेपाललाई ठूलो राहत र फाइदा पुर्याएको छ। अब नेपाली टोलीले विश्वकपको यात्रा तय गर्नका लागि कठिन मानिने क्षेत्रीय वा एसियाली छनोटको परीक्षा दिइरहनु पर्ने छैन।
स्कटल्यान्डमा सम्पन्न आईसीसीको वार्षिक सम्मेलनले पुरुष टी–२० विश्वकपलाई थप रोमान्चक, बलियो र प्रतिस्पर्धात्मक बनाउन सहभागिताको नयाँ ढाँचा (Format) स्वीकृत गरेको हो। नयाँ व्यवस्था अनुसार, सन् २०२६ को टी–२० विश्वकप खेलेका तर सुपर ८ (अथवा स्वतः छनोट हुने स्थान) मा पर्न नसकेका टोलीहरूले आगामी विश्वकपको यात्राका लागि सिधै ग्लोबल छनोट खेल्ने विशेष मौका पाउनेछन्। नेपाल केही महिनाअघि सम्पन्न टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो। यदि आईसीसीले पुरानै नियम कायम राखेको भए नेपालले पुनः सुरुदेखि नै एसियाली छनोट पार गर्दै आउनुपर्ने हुन्थ्यो। तर, यो नयाँ नियम लागू भएसँगै बाहिरिएका टोलीहरूले पनि सोझै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेका छन्।
नयाँ प्रारूप अनुसार अब ग्लोबल छनोटमा कुल १६ वटा टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्। यस महाभिडन्तमा अघिल्लो विश्वकप अर्थात् सन् २०२६ को संस्करणबाट सिधै छनोट हुन नसकेका ८ वटा टोलीहरू रहनेछन् भने बाँकी ८ वटा टोलीहरू विभिन्न क्षेत्रीय छनोटहरू पार गरेर आउनेछन्।
विश्वकपलाई अझ व्यापक बनाउने प्रयास स्वरूप आईसीसीले अर्को एउटा ठूलो नीतिगत परिवर्तन पनि गरेको छ। यसअघि समूह चरण पार गरेपछि ‘सुपर ८’ टोलीहरूलाई सिधै आगामी विश्वकप खेल्ने अवसर प्रदान गरिँदै आएकोमा, अब दुई टोली थप गरेर ‘सुपर १०’ टोलीहरूलाई सिधै अर्को विश्वकपमा प्रवेश दिइने व्यवस्था मिलाइएको छ। यो नियमले टेस्ट राष्ट्रहरूको दबदबा रहने विश्वकप क्रिकेटमा नेपाल जस्ता उदीयमान एसोसिएट राष्ट्रहरूलाई आफ्नो बलियो उपस्थिति देखाउन र विश्वकपको यात्रा छोट्याउन ठूलो ढोका खोलेको छ।






