राजविराज / सप्तरीको शम्भुनाथ नगरपालिकाले शैक्षिक सुधार र साक्षरता अभियानमा अर्को एउटा महत्त्वपूर्ण सफलता हात पारेको छ। आवश्यक सम्पूर्ण साक्षरता मापदण्डहरू सफलतापूर्वक पूरा गरेपछि शम्भुनाथ नगरपालिकाको वडा नं. १२ लाई बुधबार एक विशेष समारोहका बीच औपचारिक रूपमा ‘साक्षर वडा’ घोषणा गरिएको हो। वडाभित्र रहेका निरक्षर नागरिकहरूलाई लक्षित गरी सञ्चालन गरिएको एक महिने विशेष साक्षरता कक्षा र गहन सर्वेक्षणका क्रममा पहिचान भएका २५० जना निरक्षर महिला तथा पुरुषहरू साक्षर भएसँगै वडाले साक्षर घोषणाका लागि आवश्यक पर्ने छवटै राष्ट्रिय मापदण्ड पूरा गर्न सफल भएको हो।
मनोकामना सामुदायिक सिकाइ केन्द्रकी अध्यक्ष रञ्जनीता चौधरीको अध्यक्षतामा आयोजित सो गौरवपूर्ण घोषणा कार्यक्रममा शम्भुनाथ नगरपालिकाकी कार्यवाहक प्रमुख अनिताकुमारी चौधरीले साक्षरताले व्यक्तिलाई औँठाछापको बाध्यताबाट सदाका लागि मुक्त गराउने धारणा राख्नुभयो। उहाँले १५ देखि ६० वर्ष उमेर समूहका महिला तथा पुरुषहरूलाई साक्षर बनाउने यो अभियानले नगरको समग्र शैक्षिक र सामाजिक विकासमा दूरगामी योगदान पुर्याएको बताउनुभयो। कार्यवाहक नगर प्रमुख चौधरीले यस अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा सिङ्गो नगरपालिकालाई नै ‘पूर्ण साक्षर नगरपालिका’ निर्माण गर्नका लागि सबै सरोकारवाला पक्ष, नागरिक समाज र स्थानीय बासिन्दाहरूको सक्रिय सहकार्य आवश्यक रहेको कुरामा विशेष जोड दिनुभयो।
घोषणा औपचारिकतामा मात्र सीमित नभई व्यवहारमा पनि रूपान्तरित हुनुपर्ने धारणा वडा नं. १२ का अध्यक्ष सञ्जयकुमार साहले व्यक्त गर्नुभयो। एक दिन पढेर वा लेखेर मात्र मानिस पूर्ण साक्षर नहुने उल्लेख गर्दै उहाँले घरका शिक्षित सदस्य वा छिमेकीहरूको सहयोग लिएर आफ्नो सिकाइ र अध्ययनलाई नियमित रूपमा निरन्तरता दिन स्थानीय बासिन्दाहरूलाई आग्रह गर्नुभयो। त्यस्तै, वडा नं. २ का अध्यक्ष दुर्गानन्द भगतले साक्षरताले व्यक्तिको व्यक्तित्व, नैतिकता र सामाजिक सम्मान अभिवृद्धि गर्ने बताउँदै २०८५ सालसम्म सबै बालबालिकाले अनिवार्य रूपमा कक्षा ८ उत्तीर्ण गर्नुपर्ने सरकारी नीतिको स्मरण गराउनुभयो। उहाँले आधुनिक युगमा शिक्षा नलिए भविष्यमा राज्यबाट प्राप्त हुने विभिन्न आधारभूत सेवासुविधाहरूबाट समेत वञ्चित हुन सक्ने खतरा औँल्याउनुभयो।
कार्यक्रममा सहभागी वडा नं. ४ का अध्यक्ष तथा शिक्षा समिति सदस्य विजय साहले वडा नं. १२ मा अब औँठाछाप लगाउने अवस्थाको पूर्ण अन्त्य भएको घोषणा गर्दै नगरपालिकाका बाँकी आठवटा वडाहरूलाई पनि क्रमशः साक्षर घोषणा गर्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो। वडा नं. ८ का अध्यक्ष इन्द्रकान्त चौधरीले साक्षरतालाई सामाजिक परिवर्तनको बलियो आधारका रूपमा व्याख्या गर्नुभयो। राजोबती माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मदेव साहले जनसङ्ख्याका आधारमा यो वडा नगरकै सबैभन्दा ठूलो भएकाले यहाँ सिकाइको दिगोपन कायम राख्नु ठूलो चुनौती र आवश्यकता रहेको बताउनुभयो। शिक्षा शाखाका स्रोत व्यक्ति योगेन्द्रप्रसाद चौधरीले भने अब नगरपालिकालाई पूर्ण साक्षर घोषणा गरी नागरिकहरूलाई आधुनिक डिजिटल सेवाको उपयोग गर्न सक्ने गरी सक्षम बनाउनुपर्ने समसामयिक विचार व्यक्त गर्नुभयो।
कक्षामा सहभागी स्थानीय नागरिकहरूले साक्षरता अभियानमार्फत आफ्नै नाम लेख्न, शून्यदेखि नौसम्मका अंकहरू चिन्न, घडी हेर्न, भित्तेपात्रो (क्यालेन्डर) प्रयोग गर्न, मोबाइलको सामान्य कार्य सञ्चालन गर्न तथा बैङ्क एवं सरकारी काममा आफ्नै हस्ताक्षर गर्न सिकेको उत्साहित हुँदै अनुभव सुनाएका थिए। प्रधानाध्यापक जयप्रकाश चौधरीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा मनोकामना सामुदायिक सिकाइ केन्द्रकी परिचालक रेणुका चौधरीले वडाभरिका नौवटा साक्षरता केन्द्रमार्फत करिब ३२५ घरधुरीलाई समेटेर सर्वेक्षण गरिएको प्रतिवेदन प्रस्तुत गर्नुभयो। सर्वेक्षणमा पहिचान भएका निरक्षरहरूमध्ये करिब ९६ प्रतिशतले साक्षरताका आवश्यक सीपहरू पूर्ण रूपमा हासिल गरेपछि मात्र यो घोषणा सम्भव भएको हो। शम्भुनाथ नगरपालिकामा यसअघि नै वडा नं. ३ र ११ लाई साक्षर घोषणा गरिसकिएको छ भने वडा नं. ७ घोषणाको अन्तिम तयारीमा रहेको छ, जसले नगरलाई पूर्ण साक्षर बनाउने लक्ष्यको नजिक पुर्याएको छ।






