बागमती प्रदेशका ११ प्रादेशिक अस्पतालमा डायलाइसिस सेवा सुरु: विशिष्टीकृत स्वास्थ्य सेवाको विस्तार, दैनिक आठ हजार बढी लाभान्वित
शिक्षाखबर डेस्क
३२ असार २०८३, बिहीबार
no immg

हेटौँडा / बागमती प्रदेश सरकारले नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन भौतिक पूर्वाधार र विशेषज्ञ सेवाको विस्तारमा ठूलो फड्को मारेको छ। प्रदेश सरकारले काठमाडौँ र ललितपुरबाहेक आफ्ना मातहतमा रहेका १३ मध्ये ११ वटा प्रादेशिक अस्पतालहरूबाट नियमित रूपमा मिर्गौला डायलाइसिस सेवा सञ्चालनमा ल्याएको हो। स्वास्थ्य मन्त्रालयमा आयोजित एक विशेष पत्रकार सम्मेलनमा प्रगति विवरण सार्वजनिक गर्दै स्वास्थ्यमन्त्री किरण थापा मगरले स्रोत, उपकरण र जनशक्तिको सीमितताका बाबजुद प्रदेशवासीलाई गुणस्तरीय र विशिष्टीकृत स्वास्थ्य सेवा प्रवाह गर्न मन्त्रालयले विभिन्न रणनीतिक कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाएको जानकारी दिनुभयो।

मन्त्रालयको पछिल्लो व्यवस्था अनुसार भक्तपुर, त्रिशूली र सिन्धुली अस्पतालमा अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरी सेवा सुरु भइसकेको छ भने हेटौँडा, सिन्धुली, त्रिशूली र भक्तपुर अस्पतालमा छिट्टै जटिल जलन (बर्न) उपचार सेवा सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको छ। हाल प्रदेशका प्रादेशिक अस्पतालहरूबाट दैनिक आठ हजारभन्दा बढी सेवाग्राहीले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा लिइरहेका छन्। पछिल्लो समय हेटौँडा अस्पतालको सेवामा सुधार आएसँगै बागमती प्रदेश मात्र नभई छिमेकी मधेस प्रदेशका बारा, पर्सा, रौतहट र महोत्तरी जिल्लाबाट समेत ठूलो संख्यामा बिरामीहरू उपचारका लागि आउने गरेका छन्। यसका साथै प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा आत्मनिर्भरता बढाउन हाल १४ प्रकारका अत्यावश्यक औषधिहरू आफैँ उत्पादन गरिरहेको छ।

ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूको मातृ स्वास्थ्यलाई सहज र सुरक्षित बनाउन मन्त्रालयले तालिमप्राप्त जनशक्तिसहित पोर्टेबल अल्ट्रासाउन्ड मेसिन गाउँ-गाउँमा उपलब्ध गराएको छ। ज्येष्ठ नागरिकहरूको विशेष उपचारका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल, भक्तपुर, त्रिशूली, धादिङ र रसुवा अस्पतालमा छुट्टै ज्येष्ठ नागरिक वार्डहरू पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन्। यसैगरी बढ्दो मानसिक स्वास्थ्य चुनौतीलाई सम्बोधन गर्न चौतारा र हेटौँडा अस्पतालमा मानसिक स्वास्थ्य वार्ड स्थापना गरी अन्तरङ्ग (भर्ना) सेवा सुरु गरिएको छ भने भक्तपुर अस्पतालबाट विशेष रूपमा अल्जाइमर्ससम्बन्धी रोगको विशिष्टीकृत उपचार सेवा प्रारम्भ गरिएको छ।

नागरिक तहमा स्वास्थ्य सचेतना फैलाउन प्रदेश सरकारले ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियानलाई तीव्र पारेको छ, जसअन्तर्गत नसर्ने रोग नियन्त्रण तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि प्रदेश र जिल्ला स्तरमा समन्वय समितिहरू गठन गरिएका छन्। सहरी तथा अर्धसहरी क्षेत्रका नागरिकलाई शारीरिक व्यायाममा प्रोत्साहन गर्न काठमाडौँ, भक्तपुर, चितवन र मकवानपुरका १५ रणनीतिक स्थानहरूमा खुला व्यायामशाला (ओपन जिम) स्थापना गरिएको छ। मन्त्रालयले चितवनको माडी, खैरहनी र रत्ननगर नगरपालिकामा रैथाने रोगका रूपमा रहेको सिकलसेल एनिमिया र थालेसिमियाको १,६०२ जनामा निःशुल्क परीक्षण गराएको छ भने नेपाल सरकार र स्थानीय तहसँगको त्रिपक्षीय सहकार्यमा २ लाख ५६ हजार ४७० जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (HPV) खोप सफलतापूर्वक लगाइसकेको छ।

आगामी आर्थिक वर्षका लागि मन्त्रालयले थप महत्त्वाकाङ्क्षी र दूरगामी योजनाहरू तय गरेको स्वास्थ्यमन्त्री मगरले जानकारी दिनुभयो। जसअनुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल र भक्तपुर अस्पतालमा आधुनिक क्याथ ल्याबसहितको मुटुरोग उपचार सेवा विस्तार गरिनेछ। दुर्गम तथा पिछडिएका क्षेत्रका गर्भवती एवं सुत्केरी महिलाहरूका लागि स्वास्थ्य सुधार ल्याउन पौष्टिक आहार कार्यक्रमलाई निरन्तरता दिइनेछ। राजमार्गमा हुने सम्भावित दुर्घटनाका घाइतेहरूलाई तत्काल आकस्मिक उपचार उपलब्ध गराउने उद्देश्यले धादिङको बैरेनी अस्पताल तथा भक्तपुरको सूर्यविनायक नगर अस्पतालमा अत्याधुनिक ‘लेभल–५ ट्रमा सेन्टर’ स्थापना गर्नका लागि आवश्यक बजेट व्यवस्थापन भइसकेको मन्त्री मगरले स्पष्ट पार्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खबर