चितवन / बागमती प्रदेश सरकारले यातायात क्षेत्रको सेवा प्रवाहलाई थप प्रविधिमैत्री र सहज बनाउन नयाँ अनलाइन भुक्तानी प्रणाली सुरुवात गर्ने भएको छ। बागमती प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरूमा हाल सञ्चालनमा रहेका EDLVRS तथा EVRS प्रणालीलाई परिमार्जन गरी अनलाइन भुक्तानीको विशेष सुविधासहित नयाँ केन्द्रीय प्रणालीमा रूपान्तरण गर्न लागिएको हो। यातायात व्यवस्था विभाग काठमाण्डौ तथा सातवटै प्रदेशको संयुक्त निर्णयबमोजिम आगामी साउन १ गतेदेखि यो नयाँ प्राविधिक प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउनेछ। नयाँ प्रणाली कार्यान्वयनका लागि बागमती प्रदेश आर्थिक ऐन, २०८३ बमोजिम राजश्व तथा शुल्कको नयाँ दर सेटअप गर्न र प्राविधिक तयारी पूरा गर्नुपर्ने भएकाले साउन १ गते एक दिनका लागि सेवा स्थगन गर्ने निर्णय गरिएको हो। बागमती प्रदेश सरकार, श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाको मिति २०८३ असार ३२ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार यो प्राविधिक व्यवस्थापनका लागि साउन १ गते शुक्रबार एक दिनका लागि प्रदेशभरका यातायात कार्यालयहरूबाट प्रवाह हुने प्रमुख सेवाहरू बन्द रहनेछन्। यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनका अनुसार उक्त दिन लाइसेन्स नवीकरण, नयाँ तथा वर्ग थपका लागि आवेदन दर्ता, मेडिकल सेवा, सम्पूर्ण शीर्षकका राजश्व सङ्कलन, रिट्रायल दर्ता, प्रमाणीकरण तथा विवरण सच्याउने लगायतका मुख्य-मुख्य इन-कैमरा र प्रणालीगत सेवाहरू पूर्ण रूपमा स्थगित हुनेछन्। प्रणाली अपग्रेडको समयमा सेवाग्राहीहरूमा पर्न जाने असुविधाप्रति मन्त्रालय तथा मातहतका कार्यालयहरूले सामूहिक रूपमा क्षमाप्रार्थी रहेको जनाएका छन्। यद्यपि, अनलाइन प्रणाली अपग्रेड गरिने भए तापनि सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै भौतिक रूपमा सम्पादन हुने निश्चित सेवाहरू भने सुचारु रहने स्पष्ट पारिएको छ। जसअन्तर्गत पूर्वनिर्धारित तालिका र कार्यसूची बमोजिम सञ्चालन हुने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) एवम् तयारी अवस्थामा रहेका लाइसेन्स वितरण लगायतका प्रशासनिक कार्यहरू भने नियमित कार्यालय समयभित्र यथावत् रूपमा सञ्चालन हुने मन्त्रालय र भरतपुर कार्यालयद्वारा जारी छुट्टाछुट्टै आधिकारिक सूचनामा उल्लेख छ।






