काठमाडौँ / कला र अभिव्यक्तिको स्वतन्त्रताका नाममा शिक्षकको गरिमा र शिक्षण पेसामाथि गम्भीर आघात पुर्याएको भन्दै हालै सार्वजनिक गरिएको ‘मास्टर्नी’ नामक गीत तथा भिडियोमाथि तत्काल प्रतिबन्ध लगाउन माग गरिएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को केन्द्रीय समितिले एक प्रेस वक्तव्य जारी गर्दै उक्त गीत र भिडियोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। संगठनले सो सामग्रीले समग्र शिक्षण पेसा, पवित्र गुरु–शिष्य सम्बन्ध तथा महिलाको सम्मानमाथि कडा प्रहार गरेको दाबी गर्दै यसले समाजमा विकृति, अश्लीलता र उपभोक्तावादी सांस्कृतिक प्रवृत्तिलाई प्रश्रय दिएको ठहर गरेको छ। अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाद्वारा साउन १ गते जारी प्रेस वक्तव्यमा कलाका नाममा समाजका सम्मानित पेसा, स्थापित सामाजिक मूल्य–मान्यता र सांस्कृतिक मर्यादामाथि प्रहार गर्ने यस्ता अराजक सामग्रीहरू कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने स्पष्ट पारिएको छ। संगठनले सम्बन्धित सरकारी निकाय तथा सरोकारवालाहरूसँग उक्त विवादित गीत र भिडियोमाथि तत्काल पूर्ण प्रतिबन्ध लगाउन जोडदार माग गरेको छ। यसका साथै समाजमा यस्ता विकृति फैलाउने र यसलाई प्रश्रय दिने सम्बन्धित गीतका निर्माता, निर्देशक, कलाकार तथा आबद्ध सम्पूर्ण पक्षहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक छानबिन गरी कडा कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरिएको छ। शैक्षिक क्षेत्रको गरिमा जोगाउन र शिक्षकको सम्मान कायम राख्न विद्यार्थी संगठनहरूले दबाब बढाइरहेका बेला क्रान्तिकारीले यस कदमलाई थप सशक्त बनाउने संकेत गरेको छ। संगठनले देशको शिक्षाको गरिमा, शिक्षक वर्गको साझा सम्मान तथा स्वस्थ राष्ट्रिय संस्कृतिको संरक्षणका पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण न्यायप्रेमी, प्रगतिशील तथा सचेत नागरिकहरूलाई हार्दिक अपिल गरेको छ। कला र मनोरञ्जनका नाममा हुने यस्ता विकृत, अश्लील र उपभोक्तावादी सांस्कृतिक अतिक्रमणका विरुद्ध सम्पूर्ण सचेत समुदाय एकजुट र एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउँदै अखिल (क्रान्तिकारी) ले आफ्नो तर्फबाट क्रान्तिकारी अभिवादनसहित यो प्रेस विज्ञप्ति सार्वजनिक गरेको हो।






