काठमाडौँ /आगामी भदौ ५ गतेबाट देशभरका सिनेमा घरहरूमा प्रदर्शनका लागि प्रचार-प्रसारमा रहेको नेपाली चलचित्र ‘मास्टर्नी’ को प्रवर्द्धनात्मक (प्रोमोनल) सामग्रीमाथि चौतर्फी विरोध र कानुनी संकट सुरु भएको छ। नेपाल शिक्षक महासङ्घको राष्ट्रिय समिति, सानोठिमी भक्तपुरले एक आधिकारीक विज्ञप्ति जारी गर्दै हालै सार्वजनिक गरिएको चलचित्रको प्रवर्द्धनात्मक गीतप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। महासङ्घले सो गीतमा महिला शिक्षकप्रति लक्षित गरी अत्यन्तै अमर्यादित शब्द र खराब भाव संयोजन गरिएको ठहर गर्दै यसले सिङ्गो शिक्षक समुदाय र पवित्र शिक्षण पेसाको स्थापित गरिमामाथि गम्भीर प्रहार गरेको दाबी गरेको छ। महासङ्घका महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मीकिशोर सुवेदीद्वारा साउन १ गते संयुक्त रूपमा जारी गरिएको विज्ञप्तिमा उक्त विवादित गीतलाई तुरुन्त बन्द गर्न र चलचित्रमा समेत प्रयोग नगर्न सम्बन्धित निर्माण पक्षसँग जोडदार आग्रह गरिएको छ।

महासङ्घले शिक्षण पेसालाई ओझेलमा पार्ने र समाजमा गलत सन्देश प्रवाह गर्ने यस्ता सामग्रीहरू तत्काल नरोकीए कडा कदम चाल्ने संकेत गरेको छ। चलचित्र उद्योगमा कलाको नाममा हुने यस्ता विसङ्गतिपूर्ण प्रवृत्तिको विरोध गर्दै महासङ्घले शिक्षकहरूको व्यावसायिक मर्यादा रक्षाका लागि जुनसुकै स्तरको दबाबमूलक कार्यक्रम अघि बढाउन सक्ने चेतावनी दिएको छ। प्रेस विज्ञप्ति मार्फत महासङ्घले निर्माण पक्षलाई कडा चेतावनी दिँदै यदि उक्त विवादित गीतले निरन्तरता पाएमा वा बन्द नगरिएमा त्यसबाट उत्पन्न हुन सक्ने सम्पूर्ण असहज र गम्भीर परिणामप्रति चलचित्र निर्माता तथा त्यससँग आबद्ध कलाकारहरू स्वयं नै पूर्ण रूपमा जिम्मेवार हुने कुरासमेत प्रष्ट पारेको छ। विद्यार्थी संगठनहरूपश्चात् देशकै सबैभन्दा ठूलो शिक्षकहरूको छाता संगठनले समेत चलचित्रको गीतमाथि प्रतिबन्धको माग गर्दै कडा चेतावनी दिएपछि ‘मास्टर्नी’ चलचित्रको प्रदर्शन र व्यावसायिक यात्रामाथि ठूलो नैतिक एवं कानुनी दबाब सिर्जना भएको छ।






