जलन उपचार प्रणाली सुधारमा स्वास्थ्य मन्त्रालयको तदारुकता: तीनै तहका अस्पताल सुदृढ बनाइने, कीर्तिपुर बर्न सेन्टरको अनुभव राष्ट्रिय स्तरमा उपयोग गरिने
शिक्षाखबर डेस्क
१ श्रावण २०८३, शुक्रबार
no immg

काठमाडौँ /+ नेपाल सरकारले देशमा जलन (बर्न) को उपचार सेवालाई थप प्रभावकारी, गुणस्तरीय र वैज्ञानिक बनाउन एकीकृत रणनीतिसहितको नयाँ पहल सुरु गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालमा जलन उपचार सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने, उपचारका एकीकृत मापदण्ड देशैभर लागू गर्ने तथा स्थानीय तहदेखि सङ्घीय तहसम्मकै स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने विषयमा यस क्षेत्रका वरिष्ठ चिकित्सक एवं विशेषज्ञहरूसँग विशेष छलफल गर्नुभएको हो। मन्त्री मेहतासँग नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर, कीर्तिपुरका वरिष्ठ चिकित्सकहरू डा. किरण नकर्मी र डा. शङ्करमान राईका साथै जलन अभियान्ता उज्ज्वल थापाले बिहीबार मन्त्रालयमा शिष्टाचार भेट गर्दै नेपालमा जलन उपचारको वर्तमान अवस्था, यस क्षेत्रका प्रमुख चुनौती र सुधारका तत्कालीन प्राथमिकताबारे विस्तृत रूपमा विचार आदानप्रदान गर्नुभएको छ।

मन्त्रालयमा भएको सो उच्चस्तरीय छलफलमा जलनका बिरामीले दुर्घटना भएको पहिलो क्षण अर्थात् ‘गोल्डेन आवर’ देखि नै सही र वैज्ञानिक उपचार पाउनुपर्ने अपरिहार्य आवश्यकता औंल्याइएको थियो। विशेष गरी प्राथमिक उपचार सम्बन्धी सही ज्ञान र सीप तल्लो तहका स्वास्थ्यकर्मीहरूमा विस्तार गर्नुपर्ने विषयमा जोड दिँदै स्थानीय स्वास्थ्य संस्था, एम्बुलेन्स सेवा, जिल्ला अस्पतालदेखि प्रदेश र सङ्घीय अस्पतालसम्म कार्यरत जनशक्तिलाई जलन व्यवस्थापनसम्बन्धी विशेष प्राविधिक तालिम सञ्चालन गर्ने सहमति भएको छ। जलनका बिरामीको उपचारलाई देशभर एकरूप र गुणस्तरीय बनाउनका लागि नयाँ उपचार मापदण्ड तयार गरी सबै तहका स्वास्थ्य संस्थामा अनिवार्य कार्यान्वयन गर्ने विषयमा समेत मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ।

छलफलका क्रममा जलन उपचारलाई स्थानीय, प्रदेश र सङ्घीय तीनै तहमा चरणबद्ध रूपमा व्यवस्थित गर्ने, जटिल प्रकृतिका बिरामीहरूको समयमै सुरक्षित प्रेषण (रेफरल) सुनिश्चित गर्ने तथा दुर्गमका नागरिकसम्म उपचारको पहुँच विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। मन्त्री मेहताले जलन उपचारलाई स्वास्थ्य सेवाको महत्त्वपूर्ण प्राथमिकताका रूपमा अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्दै यस क्षेत्रमा लामो समयदेखि कार्यरत विशेषज्ञ संस्थाहरू तथा अभियान्ताहरूसँगको सहकार्यलाई अझ मजबुत बनाइने उल्लेख गर्नुभयो। उहाँले जलनका बिरामीले प्रारम्भिक उपचारदेखि विशेषज्ञ सेवासम्म सहज पहुँच पाउने स्थायी प्रणाली विकास गर्नु नै मन्त्रालयको मुख्य ध्येय रहेको स्पष्ट पार्नुभएको छ।

यसका साथै, भेटघाटमा जलन रोकथामका लागि देशव्यापी जनचेतना अभिवृद्धि गर्ने, स्वास्थ्यकर्मीको क्षमता विकास गर्ने र विशेष गरी नेपाल क्लेफ्ट एन्ड बर्न सेन्टर, कीर्तिपुरको लामो प्राविधिक अनुभव एवं विशेषज्ञतालाई राष्ट्रिय स्तरमा उपयोग गर्ने विषयमा समेत महत्त्वपूर्ण सहमति बनेको छ। जलन उपचार प्रणालीलाई थप जनमुखी बनाउन आवश्यक नीतिगत सुधार गर्ने, विभिन्न तहका स्वास्थ्य संस्थाहरूबीचको समन्वयलाई अझ बढी सुदृढ गर्ने तथा आगामी दिनमा सरकारी-निजी साझेदारीका सम्भावित क्षेत्रबारे समेत मन्त्रालयले विस्तृत योजना बनाउने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै