देशव्यापी रूपमा ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सुरु: विद्यालय र समुदायमा विद्यार्थी परिचालन गरिने, यस्ता छन् लक्षण र बच्ने उपाय
शिक्षाखबर डेस्क
१ श्रावण २०८३, शुक्रबार
no immg

काठमाडौँ / मनसुनको सक्रियतासँगै देशैभर डेङ्गु सङ्क्रमणको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सरकारले आजदेखि व्यापक रूपमा ‘डेङ्गु सचेतना तीन महिने अभियान’ सञ्चालनमा ल्याएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि साउन, भदौ र असोज महिनाभर देशव्यापी रूपमा यो विशेष अभियान चलाउने निर्णय गरेबमोजिम स्वास्थ्य सेवा विभागले आफ्नै परिसरबाट यसको औपचारिक सुरुवात गरेको हो। गत आर्थिक वर्ष सञ्चालन गरिएको सचेतना कार्यक्रमबाट डेङ्गु रोकथाम तथा नियन्त्रणसम्बन्धी जनचेतनामा वृद्धि हुनुका साथै समुदायको सक्रिय सहभागितामार्फत सङ्क्रमण न्यूनीकरणमा सकारात्मक प्रभाव परेकाले यस वर्ष पनि अभियानलाई थप परिमार्जित रूपमा निरन्तरता दिइएको मन्त्रालयको प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखाले जनाएको छ। अभियानलाई तल्लो तहसम्मै प्रभावकारी बनाउन मन्त्रालयले देशका सबै ७५३ वटै स्थानीय तहहरूसँग आवश्यक समन्वय र सहकार्य अगाडि बढाएको छ।

यस तीन महिने अभियान अन्तर्गत प्रत्येक हप्ताको शुक्रबारलाई ‘हरेक शुक्रबार, सफा शुक्रबार’ का रूपमा विशेष कार्यक्रमसहित मनाइने व्यवस्था गरिएको छ। जसअनुसार सबै सार्वजनिक निकाय, सरकारी कार्यालय, विद्यालय तथा सामुदायिक संस्थाहरूमा लामखुट्टेको मुख्य प्रजननस्थल खोजी गरी नष्ट गर्ने तथा बृहत् सरसफाइ कार्यक्रमहरू सञ्चालन गरिनेछ। स्थानीय तहहरूले आफ्ना वडा कार्यालय, टोल विकास संस्था, नागरिक समाज तथा अन्य सरोकारवाला निकायहरूसँग प्रत्यक्ष समन्वय गरी समुदायको सक्रिय सहभागितामा लामखुट्टेको बासस्थान नष्ट गर्ने कार्यलाई तीव्रता दिनेछन्। डेङ्गु नियन्त्रणका लागि स्वास्थ्य तथा गैरस्वास्थ्य क्षेत्रबीच बहुपक्षीय समन्वयलाई प्राथमिकतामा राख्दै मन्त्रालयले आफ्नो कार्यक्षेत्रभित्र पर्ने अटो वर्कसप, पुराना टायर तथा कवाडी सामग्री व्यवस्थापन स्थल, निर्माणाधीन भवन र पानी जम्ने अन्य सम्भावित स्थानहरूको नियमित अनुगमन गरी पानीको निकास एवं उचित व्यवस्थापन गर्न स्थानीय सरकारहरूलाई निर्देशनसमेत दिएको छ।

विशेष गरी शैक्षिक क्षेत्र र युवा शक्तिलाई लक्षित गर्दै यस पटकको अभियानमा स्वास्थ्य आमा समूह, युवा क्लब, शिक्षक, स्वयंसेवक तथा कलेज र विश्वविद्यालयका विद्यार्थीहरूलाई समुदायमा स्वयंसेवकका रूपमा व्यापक परिचालन गरिने भएको छ। विद्यालयहरूमा साथी शिक्षा (पियर एजुकेसन) कार्यक्रम, सरसफाइ अभियान, विद्यालय स्वास्थ्य निरीक्षण टोली गठनका साथै विद्यार्थीहरूको रचनात्मक क्षमता विकासका लागि वक्तृत्वकला, हाजिरीजबाफ तथा चित्रकला प्रतियोगिताजस्ता सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिनेछ। प्रत्येक वडामा पोस्टर, ब्यानर, समूह छलफल, अभिमुखीकरण तथा स्थानीय एफएम र रेडियोहरू मार्फत राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले तयार पारेका रेडियो जिङ्गल नियमित प्रसारण गरी व्यापक प्रचारप्रसार गरिनेछ भने निजी क्षेत्र तथा होटल व्यवसायीहरूसँगको सहकार्यमा डिजिटल बोर्डहरू मार्फत पनि चेतना फैलाइनेछ।

मन्त्रालयले लामखुट्टेको टोकाइबाट सर्ने यस रोगको जोखिमबाट बच्न सर्वसाधारणमा विशेष अपिल गर्दै यसका मुख्य लक्षणहरूबारे सचेत गराएको छ। सामान्यतया ज्वरो आउनेसँगै शरीरमा साना बिमिराहरू देखिने, जोर्नी वा मांसपेशीहरू अत्यधिक दुख्ने, टाउको तथा आँखाको वरिपरि दुख्ने, वाकवाकी लाग्ने वा निरन्तर बान्ता हुने जस्ता लक्षणहरू देखिएमा डेङ्गु सङ्क्रमण भएको हुन सक्ने भएकाले ढिला नगरी तत्कालै नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि पुग्न आग्रह गरिएको छ। रोगको शङ्का लागेमा वा थप परामर्श आवश्यक परेमा सरकारले सञ्चालनमा ल्याएको निःशुल्क १११५ हेल्थ हेल्पलाइनमा तत्काल सम्पर्क गरी आवश्यक स्वास्थ्य सल्लाह लिनसमेत मन्त्रालयले आम नागरिकलाई सूचित गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै