सल्यान / उत्कृष्ट वन व्यवस्थापन, संरक्षण, दिगो प्रणालीको अवलम्बन तथा संस्थागत सुशासन कायम गर्ने जस्ता महत्त्वपूर्ण मापदण्डमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सल्यान जिल्लाका तीन वटा सामुदायिक वन उपभोक्ता समूहहरूलाई नगद पुरस्कार र प्रमाणपत्रसहित विशेष सम्मान गरिएको छ। डिभिजन वन कार्यालय सल्यानले जिल्ला वन समन्वय समितिको बैठक तथा आर्थिक वर्ष २०८२–८३ को वार्षिक प्रगति समीक्षा कार्यक्रमको भव्य अवसर पारी जिल्लाभरका ६२६ वटा सामुदायिक वन उपभोक्ता समूहहरूमध्येबाट उत्कृष्ट कार्य सम्पादन गर्ने समूहहरूलाई यो सम्मान प्रदान गरेको हो।
डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले दिनुभएको जानकारी अनुसार, पुरस्कार छनोट प्रक्रियामा वन संरक्षण, दिगो व्यवस्थापन अभ्यास, संस्थागत सुशासन, जैविक विविधताको संरक्षण तथा स्थानीय समुदायको सक्रिय सहभागितालाई मुख्य आधार बनाइएको थियो। यस निष्पक्ष छनोट प्रक्रियामा त्रिवेणी गाउँपालिका–५, सिम्कको गाईगौरेनी सामुदायिक वन उपभोक्ता समूह जिल्लाभरमै प्रथम घोषित भएको छ र ३० हजार रुपियाँ नगद तथा प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी, कुमाख गाउँपालिका–६ को सरस्वती सामुदायिक वन उपभोक्ता समूह २० हजार रुपियाँ नगदसहित द्वितीय र छत्रेश्वरी गाउँपालिका–६ को भुवनेश्वरी सामुदायिक वन उपभोक्ता समूह १५ हजार रुपियाँ नगदसहित तृतीय स्थान हासिल गरी सम्मानित भएका छन्।
सल्यान जिल्लामा सामुदायिक वनहरूले कुल ७२ हजार १३.२५ हेक्टर वन क्षेत्रफल ओगटेका छन् र ६२ हजारभन्दा बढी स्थानीय घरधुरीहरू यसबाट प्रत्यक्ष रूपमा लाभान्वित हुँदै आएका छन्। यसबाहेक जिल्लामा २०३ वटा कबुलियती वन र दुई वटा धार्मिक वनहरू पनि सञ्चालनमा रहेका छन्, जसले वन संरक्षण र व्यवस्थापनको एउटा ठुलो सञ्जाल खडा गरेको छ। डिभिजन वन कार्यालयले वन संरक्षणप्रति समुदायको चासो बढाउन र क्षमता अभिवृद्धि गर्न गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै तीन हजार ११९ जनाको सहभागितामा ८३ वटा क्षमता विकास तथा जनचेतनामूलक कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरेको थियो। सोही अवधिमा कार्ययोजनाको म्याद समाप्त भएका १६५ सामुदायिक वनमध्ये १५१ वटाको कार्ययोजना नवीकरण गरी व्यवस्थापन कार्यलाई थप व्यवस्थित बनाइएको छ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावलले सल्यान जिल्लामा सामुदायिक वनहरू केवल वन संरक्षणका माध्यम मात्र नभई स्थानीय आयआर्जन, जैविक विविधताको संरक्षण, जलाधार क्षेत्रको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्ने एउटा महत्त्वपूर्ण र भरपर्दो आधार बनेको चर्चा गर्नुभयो। उहाँले आगामी दिनमा वनलाई संरक्षणसँगै उत्पादन र स्थानीय समृद्धिको ठोस आधारका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै वन डढेलोको नियन्त्रण, अवैध कटानीको प्रभावकारी रोकथाम तथा वन्यजन्तु र मानवबिचको द्वन्द्व न्यूनीकरणका लागि सबै पक्षबिच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो।






