मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐतिहासिक पहिलो दीक्षान्त समारोह सम्पन्न: ४३ स्वास्थ्य जनशक्ति दीक्षित, स्वास्थ्य शिक्षा सरकारको उच्च प्राथमिकतामा
शिक्षाखबर डेस्क
८ घण्टा अगाडि
no immg

गौशाला (महोत्तरी) / मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको इतिहासमै पहिलो दीक्षान्त समारोह भव्यताका साथ सम्पन्न भएको छ। समारोहमा विभिन्न स्वास्थ्यसम्बन्धी शैक्षिक कार्यक्रमहरू सफलतापूर्वक पूरा गरेका ४३ जना विद्यार्थी औपचारिक रूपमा दीक्षित भएका छन्। दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रतिष्ठानका कुलपति एवं मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आम नागरिकसमक्ष गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नका लागि मुलुकलाई आवश्यक पर्ने दक्ष चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूको उत्पादन अपरिहार्य रहेको बताउनुभयो। स्वास्थ्य शिक्षाको विकासलाई मधेश प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले दक्ष जनशक्ति उत्पादनमार्फत समग्र प्रदेशको स्वास्थ्य प्रणालीलाई थप आधुनिक, सबल र सुदृढ बनाउने स्पष्ट लक्ष्यका साथ सरकार अघि बढिरहेको प्रष्ट पार्नुभयो।

मुख्यमन्त्री यादवले सीमित स्रोत–साधन र विभिन्न चुनौतीका बीच पनि प्रतिष्ठानले पहिलो दीक्षान्त समारोह सफलतापूर्वक आयोजना गर्न सक्नु समग्र प्रदेश सरकारका लागि गौरवको विषय भएको बताउनुभयो। उहाँले यस प्रतिष्ठानलाई आगामी दिनमा थप सुविधासम्पन्न र गुणस्तरीय शैक्षिक संस्थाका रूपमा विकास गर्नका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोगमा कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। चिकित्सा क्षेत्रमा नयाँ आयाम थप्नका लागि प्रतिष्ठानलाई शिक्षण, अनुसन्धान तथा नवप्रवर्तन (इन्नोभेसन) को उत्कृष्ट केन्द्रका रूपमा रूपान्तरण गर्न आगामी दिनमा नयाँ योजना र कार्यक्रमहरू सञ्चालन गरिने जानकारीसमेत उहाँले दिनुभयो।

समारोहमा प्रतिष्ठानका उपकुलपति डा. अङ्कुर साहले शिक्षण, अनुसन्धान र स्वास्थ्य सेवाका माध्यमबाट राष्ट्रलाई दक्ष स्वास्थ्य जनशक्ति उपलब्ध गराउने मुख्य उद्देश्यका साथ प्रतिष्ठान निरन्तर अघि बढिरहेको बताउनुभयो। विभिन्न चुनौतीका बाबजुद पहिलो दीक्षान्त समारोह आयोजना गर्न सफल हुनु संस्थाको इतिहासमा ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उहाँले दीक्षित विद्यार्थीहरूलाई समाज, राष्ट्र र मानव सेवाप्रति समर्पित भएर आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो। आयोजकका अनुसार यस वर्षको दीक्षान्त समारोहमा ब्याचलर इन नर्सिङ साइन्स (बीएनएस) कार्यक्रमअन्तर्गत प्रथम ब्याचका १३ जना, दोस्रो ब्याचका १२ जना र तेस्रो ब्याचका १५ जना गरी कुल ४० जना विद्यार्थीहरू दीक्षित भएका छन्। यस्तै, एमडी/एमएस कार्यक्रमबाट एक जना, ब्याचलर इन पब्लिक हेल्थ (बीपीएच) कार्यक्रमबाट एक जना र अन्य कार्यक्रमबाट एक जना गरी कुल ४३ जना स्वास्थ्य जनशक्ति दीक्षित भएका हुन्।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै