काठमाडौँ / जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानलाई मध्यनजर गर्दै नेपाल सरकार, गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आम नागरिक तथा सरोकारवाला निकायहरूका लागि उच्च सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ। विभागका अनुसार साउन २ गते शनिबार र साउन ३ गते आइतबार कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ। यसैगरी देशका हिमाली र पहाडी भू-भाग, कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका थोरै स्थानहरू तथा मधेश, बागमती र गण्डकी प्रदेशको तराईका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको प्रक्षेपण गरिएको छ। भारी वर्षाका कारण अचानक आउने बाढी, पहिरो, नदी कटान, गेग्रान बहावका साथै सहरी तथा तराई क्षेत्रमा हुन सक्ने डुबानको जोखिमलाई दृष्टिगत गरी प्राधिकरणले पूर्वतयारीका साथ आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ।
जोखिम न्यूनीकरणका लागि प्राधिकरणले मौसमको अवस्था प्रतिकूल रहेकाले उक्त अवधिमा अत्यन्तै जरुरी काम नपरी घरदेखि टाढा र विशेषगरी रातिको समयमा यात्रा नगर्न सबैमा आग्रह गरेको छ। मौसम विभागको नक्सामा रातो रङ्ग अङ्कित गरिएका उच्च जोखिमयुक्त जिल्लाहरू पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा रातिको समयमा सवारी आवागमनमा पूर्ण रोक लगाउन र परिस्थिति अनुसार जुनसुकै बेला पनि सवारी बन्द गर्न सक्ने गरी तयारी गर्न भनिएको छ। सम्भावित प्राकृतिक विपत्तिको सामना गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीनवटै सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवक लगायतका सरोकारवाला सबै निकायहरूलाई उच्च प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशित गरिएको छ।
सम्भावित बाढी-पहिरोबाट हुन सक्ने यातायात अवरोधलाई तत्काल खुलाउन जोखिमयुक्त राजमार्ग तथा सडकहरूमा डोजर, एक्साभेटर र लोडर जस्ता आवश्यक हेभी इक्विपमेन्टहरू तयारी अवस्थामा राख्न प्राधिकरणले अनुरोध गरेको छ। जिल्ला सुरक्षा समिति, स्थानीय तह र स्वयंसेवकहरूले जारी गर्ने पूर्वसूचना तथा चेतावनी अनुसार जोखिमयुक्त स्थानमा बसोबास गर्ने व्यक्ति र परिवारलाई विपद् आउनुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गर्न समेत सुझाइएको छ। अचानक बाढी आउन सक्ने खोला वा खहरे नजिकका बस्ती, पहिरोको जोखिम भएका ठाउँ र नदी किनारामा बस्ने बासिन्दाहरूलाई बढी चनाखो हुन भनिएको छ। विपद् सम्बन्धी जानकारी लिनका लागि ११५५ र विपद्मा मद्दत माग्नका लागि १२३८, नेपाल प्रहरीको १०० तथा सशस्त्र प्रहरी बलको १११४ हटलाइन नम्बरहरू मोबाइलमा सुरक्षित राखी आवश्यक पर्नासाथ फोन गर्न प्रवक्ता एवं उपसचिव शान्ति महतद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।






