बैतडी / सुदूरपश्चिम क्षेत्रको प्रतिष्ठित शैक्षिक संस्था शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) को रिक्त रजिष्ट्रार पदमा डा. भीम चन्द नियुक्त हुनुभएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार बसेको विश्वविद्यालयको सिनेट (सभा) बैठकले बैतडीको पाटन नगरपालिका–१, बाटुलासौमा जन्मिनुभएका डा. चन्दलाई रजिष्ट्रार पदमा सर्वसम्मत रूपमा नियुक्त गरेको हो। गत वैशाख महिनामा सरकारले अध्यादेशमार्फत विश्वविद्यालयका तत्कालीन पदाधिकारीहरूलाई पदमुक्त गरेपछि नयाँ पदाधिकारी चयनका लागि गठित विशेष सिफारिस समितिको सिफारिसका आधारमा उहाँलाई यो जिम्मेवारी सुम्पिएको हो। स्वास्थ्य शिक्षा, अस्पताल प्रशासन र संस्थागत व्यवस्थापनको क्षेत्रमा लामो तथा विशिष्ट अनुभव बटुल्नुभएका डा. चन्दको यो नयाँ नियुक्तिसँगै गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्राज्ञिक, शैक्षिक तथा समग्र प्रशासनिक व्यवस्थापन थप प्रभावकारी र गतिशिल बन्ने चौतर्फी अपेक्षा गरिएको छ।
नवनियुक्त रजिष्ट्रार डा. चन्दले स्वास्थ्य प्रशासन, अस्पताल व्यवस्थापन र शैक्षिक संस्थाहरूको संस्थागत विकासको क्षेत्रमा लामो समयदेखि उल्लेख्य योगदान पुर्याउँदै आउनुभएको छ। अस्पताल व्यवस्थापन जस्तो प्राविधिक विषयमा विद्यावारिधि (पीएचडी) गर्नुभएका उहाँसँग काठमाडौँ मेडिकल कलेजमा लगातार १६ वर्षसम्म प्रशासन, लेखा तथा व्यवस्थापन क्षेत्रमा सफल नेतृत्वदायी भूमिका निर्वाह गरेको उच्च अनुभव छ। यसका साथै, उहाँ पछिल्लो १२ वर्षदेखि पिपुल्स डेन्टल कलेजको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा निरन्तर कार्यरत रहँदै आउनुभएको थियो। गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापनाकालीन चरण, भौतिक पूर्वाधार विकास तथा यसको संस्थागत संरचना निर्माणका विभिन्न महत्त्वपूर्ण कालखण्डमा समेत डा. चन्दले प्रत्यक्ष रूपमा प्राविधिक योगदान दिनुभएको थियो भने उहाँ यसअघि सोही विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यका रूपमा समेत सफलतापूर्वक रहिसक्नुभएको छ।
बैतडीको पाटन नगरपालिका–१, बाटुलासौमा विसं २०३१ साल असार २० गते जन्मनुभएका डा. चन्दले आफ्नो प्रारम्भिक शिक्षा गाउँकै भूमिराज आधारभूत विद्यालयबाट सुरु गर्नुभएको थियो। त्यसपछि उहाँले सिद्धेश्वर निम्न माध्यमिक विद्यालय मेल्चौरा र केदारेश्वर माध्यमिक विद्यालय दुर्गास्थानबाट विद्यालय तहको अध्ययन पूरा गर्नुभएको हो। माध्यमिक तहको शिक्षा पछि उहाँले आफ्नो उच्च शिक्षा कञ्चनपुर हुँदै काठमाडौँका विभिन्न प्रतिष्ठित विश्वविद्यालयहरूबाट हासिल गर्नुभएको थियो। आफ्नो गृह क्षेत्र सुदूरपश्चिमकै गौरवको आयोजनाका रूपमा रहेको विश्वविद्यालयको मुख्य प्रशासनिक पदमा नियुक्त भएपछि डा. चन्दले गेटालाई देशकै उदाहरणीय स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ।






