काठमाडौँ / स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले काठमाडौँको बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रको विशेष स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ. अनुगमनका क्रममा मन्त्री मेहताले केन्द्रबाट आम नागरिकलाई प्रवाह भइरहेका स्वास्थ्य सेवाहरू, विद्यमान भौतिक पूर्वाधारको अवस्था तथा केन्द्रका भावी रणनीतिक योजनाहरूका बारेमा विस्तृत जानकारी लिनुभएको थियो. सोही अवसरमा उहाँले केन्द्रको सेवा विस्तार, उपचारको गुणस्तर अभिवृद्धि र केन्द्रको समग्र प्राज्ञिक तथा भौतिक विकासका विषयमा पदाधिकारीहरूसँग बृहत् छलफलसमेत गर्नुभयो.
निरीक्षणपछि आयोजित छलफलमा बोल्दै मन्त्री मेहताले राष्ट्रिय आयुर्वेद, पञ्चकर्म तथा योग केन्द्रलाई मुलुककै आयुर्वेद, पञ्चकर्म र योग सेवाको एउटा उत्कृष्ट केन्द्र (सेन्टर अफ एक्सीलेन्स) का रूपमा थप प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो. केन्द्रले दिने सेवा र यसका रैथाने विशेषताहरूका बारेमा आम नागरिकमा व्यापक रूपमा जानकारी प्रवाह गर्न आवश्यक रहेको बताउँदै उहाँले प्रचारप्रसार व्यापक भएमा मात्र बढीभन्दा बढी सर्वसाधारणले केन्द्रबाट उपलब्ध हुने विशिष्टीकृत सेवाको प्रत्यक्ष लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो. मन्त्री मेहताले केन्द्रको प्राकृतिक सौन्दर्य र यहाँको हरियाली वातावरणलाई थप संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा विशेष जोड दिँदै त्यसका लागि मन्त्रालयका तर्फबाट आवश्यक पर्ने नीतिगत, बजेटरी तथा संस्थागत सहयोग उपलब्ध गराउने बलियो प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो.
यसका साथै, केन्द्र परिसरभित्रै स्थानीय रूपमा पाइने तथा नेपालको रैथाने पहिचान बोकेका हर्रो, बर्रो, बोजो लगायतका बहुउपयोगी औषधीय जडीबुटीहरूको व्यावसायिक उत्पादन, संरक्षण र उपयोगलाई बढावा दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो। यस्ता बहुमूल्य जडीबुटीहरूको संवर्द्धनका लागि आवश्यक पर्ने प्राविधिक सहजीकरण तथा आर्थिक सहयोग मन्त्रालयले गर्ने मन्त्री मेहताको भनाइ थियो। उहाँले मौलिक चिकित्सा पद्धतिका रूपमा रहेका आयुर्वेद, योग तथा प्राकृतिक चिकित्सालाई नेपालको समग्र स्वास्थ्य प्रणालीको एउटा महत्त्वपूर्ण र अभिन्न अङ्गका रूपमा थप सुदृढ बनाउँदै गुणस्तरीय, प्रभावकारी र सहज स्वास्थ्य सेवामा देशका सबै नागरिकको समतामूलक पहुँच अभिवृद्धि गर्न मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको समेत प्रष्ट पार्नुभयो।






