गोरखा अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्न गृहमन्त्रीसँग माग: एनआइसियु, आइसियु र डेडिकेटेड विद्युत् लाइनको पहल गरिदिन आग्रह
शिक्षाखबर डेस्क
१ दिन अगाडि
no immg

सुलीकोट (गोरखा) / जिल्लाबासीलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ प्रदेश अस्पताल गोरखाले अस्पतालको भौतिक क्षमता विस्तार, जनशक्ति व्यवस्थापन र अत्याधुनिक उपचार सेवा सञ्चालनका लागि सरकारसँग माग गरेको छ। गोरखा भ्रमणमा आउनुभएका गृहमन्त्री सुधन गुरुङसँग प्रदेश अस्पताल गोरखामा भएको भेटघाट तथा ध्यानाकर्षण कार्यक्रममा अस्पताल व्यवस्थापन समिति र प्रशासनका तर्फबाट गोरखा अस्पताललाई हालको क्षमताबाट १०० शैयामा स्तरोन्नति गरी सोही अनुसारको दरबन्दी तथा दक्ष जनशक्ति व्यवस्थापन गरिदिन औपचारिक आग्रह गरिएको हो। अस्पतालमा दिनप्रतिदिन बिरामीको चाप अत्यधिक रूपमा बढ्दै गएकाले हाल उपलब्ध सीमित भौतिक संरचना र जनशक्तिबाट सेवा प्रवाह गर्न ठूलो चुनौती सिर्जना भएको बताउँदै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ढकालले गृहमन्त्रीसमक्ष सोबारे ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो।

अस्पताल प्रशासनले जिल्लामै नवजात शिशु तथा जटिल अवस्थाका बिरामीहरूलाई प्रभावकारी उपचार सेवा उपलब्ध गराउन नवजात शिशु सघन उपचार कक्ष (NICU) र मेडिकल सघन उपचार कक्ष (MICU) सञ्चालनका लागि आवश्यक पर्ने अत्याधुनिक प्रविधि, विशेषज्ञ चिकित्सक, नर्स तथा प्राविधिक जनशक्तिको तत्काल व्यवस्था गरिदिन गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ। यी विशिष्टीकृत सेवाहरू गोरखा अस्पतालमै उपलब्ध भएमा सामान्य उपचार वा आकस्मिक जटिलताका लागि पनि बिरामीहरूलाई अन्य जिल्ला वा राजधानी काठमाडौँ धाउनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरिएको छ। यसका साथै अस्पतालमा चौबीसै घण्टा निर्बाध र भरपर्दो स्वास्थ्य सेवा सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरी अस्पतालका लागि छुट्टै डेडिकेटेड विद्युत् लाइन उपलब्ध गराउन पहल गरिदिन अस्पतालका प्रमुख सुपरिटेन्डेन्ट शम्भु अधिकारीले अनुरोध गर्नुभएको छ। विद्युत् आपूर्तिमा बेलाबेलामा हुने अवरोधका कारण आकस्मिक सेवा, शल्यक्रिया तथा सघन उपचार सेवा प्रत्यक्ष प्रभावित हुने भएकाले यस विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ।

गृहमन्त्री गुरुङले गोरखा जिल्लाको समग्र स्वास्थ्य सेवा सुदृढीकरणसँग सम्बन्धित यी मागहरूलाई सकारात्मक रूपमा लिँदै विषयगत मन्त्रालयहरू तथा सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र पहल गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुभएको प्रदेश अस्पताल गोरखाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता ध्रुव अधिकारीका अनुसार गृहमन्त्री गुरुङ विगत तीन दिनदेखि गोरखाका विभिन्न सरकारी कार्यालय, उद्योगी, व्यवसायी तथा अन्य सरोकारवालाहरूसँग जिल्लाको विकास, सेवा प्रवाह, स्वास्थ्य पूर्वाधार र समसामयिक विषयमा निरन्तर छलफलमा व्यस्त रहनुभएको थियो। स्थानीयस्तरबाट उठेका सुझाव तथा मागहरूलाई सङ्कलन गरी सम्बन्धित निकायहरूसँग समन्वय गर्ने प्रतिबद्धता जनाउँदै गृहमन्त्री गुरुङ आइतबार बेलुका काठमाडौँ फर्किनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै