स्याङ्जामा पशु स्वास्थ्य सुदृढीकरण: एकै वर्षमा साढे एक लाखभन्दा बढी पशुचौपायामा खोप, रोग नियन्त्रणमा उल्लेख्य सुधार
शिक्षाखबर डेस्क
१ दिन अगाडि
no immg

स्याङ्जा / भेटिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभरिका एक लाख ५५ हजार ५६ वटा पशुचौपायामा विभिन्न किसिमका सरुवा तथा घातक रोगविरुद्धको खोप लगाएको छ। पशुचौपायालाई खोरेत, चरचरे, भ्याकुते, लम्पी स्किन, स्वाइन फिभर र रेबिज जस्ता घातक रोगहरूबाट जोगाउने उद्देश्यका साथ जिल्लाभित्रका भैँसी, गाई, गोरु, राँगो, बाख्रा, भेडा, बङ्गुर, कुकुर र बिरालोमा व्यापक रूपमा खोप अभियान सञ्चालन गरिएको हो। भेटिनरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डा. रुपेश श्रेष्ठका अनुसार गाई, गोरु, भैँसी, राँगो र बङ्गुरमा खोरेत तथा एचएसबिक्यु (भ्याकुते-चरचरे) खोप, बाख्रा तथा भेडाहरूमा पिपिआर खोप, बङ्गुरमा बङ्गुर हैजा (क्लासिकल स्वाइन फिभर) खोप र कुकुर तथा बिरालोमा रेबिजविरुद्धको खोप लगाइएको छ। तथ्याङ्कअनुसार वर्षभरिमा खोरेत खोप ४२ हजार ८४८, एचएसबिक्यु खोप ३ हजार ४९०, पिपिआर खोप ९६ हजार ९३७, बङ्गुर हैजा खोप ४ हजार ३१७ र रेबिज खोप ८ हजार ८१४ मात्रा (डोज) प्रयोग गरिएको छ।

जिल्लाका ११ वटै स्थानीय तहमा खोप अभियानलाई प्रभावकारी रूपमा विस्तार गरिएको छ। जसअन्तर्गत वालिङ नगरपालिकामा सबैभन्दा बढी २६ हजार ७८९ पशुचौपायालाई खोप लगाइएको छ भने गल्याङ नगरपालिकामा २२ हजार ५४२, कालीगण्डकी गाउँपालिकामा १९ हजार ५२८, भीरकोट नगरपालिकामा १७ हजार १५९, पुतलीबजार नगरपालिकामा १५ हजार १९५ र चापाकोट नगरपालिकामा १४ हजार ५०७ पशुचौपाया खोपबाट लाभान्वित भएका छन्। त्यसैगरी हरिनास गाउँपालिकामा ११ हजार ५०१, बिरुवा गाउँपालिकामा ११ हजार २६, फेदीखोला गाउँपालिकामा ६ हजार ६९८, अर्जुनचौपारी गाउँपालिकामा ६ हजार ५९८ र आँधीखोला गाउँपालिकामा ४ हजार ८१३ पशुचौपायामा खोप लगाइएको कार्यालयले जनाएको छ। निरन्तरको खोप अभियानसँगै जिल्लामा पशुहरूमा लाग्ने महामारीजन्य रोगको प्रकोपमा उल्लेख्य कमी आएको डा. श्रेष्ठले बताउनुभयो।

पशु स्वास्थ्य सुधारका साथै कार्यालयले छाडा तथा घरपालुवा जनावरको सङ्ख्या नियन्त्रण र रेबिज रोकथामका लागि बन्ध्याकरण (Sterilization) कार्यक्रमसमेत सञ्चालन गरेको छ। सो अवधिमा ६ वटा बिरालो र २२७ वटा कुकुर गरी कुल २३३ वटा जनावरको सफलतापूर्वक बन्ध्याकरण गरिएको छ। सरकारले कृषकहरूलाई महामारीविरुद्धका यी सम्पूर्ण खोपहरू पूर्ण रूपमा नि:शुल्क उपलब्ध गराएको छ। यो खोप अभियान तथा पशु स्वास्थ्य सेवा व्यवस्थित रूपमा गाउँ-गाउँसम्म पुर्‍याउन खटिएका प्राविधिक एवं कर्मचारीहरूको तलब तथा भत्ताबापत सो आर्थिक वर्षमा ७५ लाख ६ हजार ८०९ रुपियाँ खर्च भएको कार्यालय प्रमुख डा. श्रेष्ठले जानकारी दिनुभयो।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै