शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हराएका महिला समूह सम्पर्कमा: अवैध च्याउ टिप्ने क्रममा भएको घटनाले सुरक्षा चुनौती थप्यो
शिक्षाखबर डेस्क
१ दिन अगाडि
no immg

महेन्द्रनगर (कञ्चनपुर) / कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र जङ्गली च्याउ टिप्ने क्रममा गत आइतबारदेखि सम्पर्कविहीन भएका दुई छुट्टाछुट्टै महिला समूहहरू अन्ततः सम्पर्कमा आएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटाका महिलाहरूको समूह नेपाल सेनाको व्यापक खोजी अभियानपछि निकुञ्ज प्रशासन र आफ्नो परिवारको सम्पर्कमा आएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको रणसिंह दल गणका गणपति एवं प्रमुख सेनानी प्रकाश घिमिरेले सम्पर्क बाहिर रहेका ती महिलाहरू सुरक्षित रूपमा परिवारको सम्पर्कमा आइसकेको पुष्टि गर्नुभएको छ। सेनानी घिमिरेका अनुसार, महिलाहरू हराएको सूचना प्राप्त हुनासाथ सेनाले आफ्ना सबै उपलब्ध संयन्त्रहरू परिचालन गरी निकुञ्जको सम्भावित क्षेत्रमा खोजी कार्यलाई अत्यन्त व्यापक पारेको थियो, जसको परिणामस्वरूप उहाँहरूलाई सकुशल फेला पार्न सफलता मिलेको हो।

यसैगरी, आइतबार साँझदेखि नै निकुञ्जको अर्को क्षेत्र बेल्डाडी गाउँपालिका–२ बाट अवैध रूपमा च्याउ टिप्न गएर हराइरहेका तीन जना महिलाहरूको अर्को समूहलाई भने रणसिंह दल गणकै सहसेनानी सुमन जिसी नेतृत्वको विशेष उद्धार टोलीले सोमबार बिहान सकुशल उद्धार गरेको छ। उद्धार टोलीले उहाँहरूलाई निकुञ्जभित्रै फेला पारी सोमबार बिहानै सकुशल परिवारको जिम्मा लगाएको छ। निकुञ्जमा अवैध रूपमा प्रवेश गरी जङ्गली च्याउ टिप्ने क्रममा तीनवटा छुट्टाछुट्टै महिला समूहहरू सम्पर्कविहीन हुँदा निकुञ्जको सुरक्षा र व्यवस्थापनमा ठूलो चुनौती सिर्जना भएको थियो। घटनाको गम्भीर्यतालाई मध्यनजर गर्दै हराएका महिलाहरूको खोजीका लागि नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नगर प्रहरी र निकुञ्ज प्रशासनको संयुक्त टोली व्यापक रूपमा परिचालन गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै