धनुषाधाम वनस्पति उद्यान मधेशको उदाउँदो पर्यटकीय र शैक्षिक गन्तव्य: धार्मिक आस्थासँगै प्रकृतिको अनुपम सङ्गम
शिक्षाखबर डेस्क
१ दिन अगाडि
no immg

जनकपुरधाम / धार्मिक आस्थाको ऐतिहासिक केन्द्रका रूपमा परिचित धनुषाको धनुषाधाम क्षेत्र पछिल्लो समय हरियाली, दुर्लभ वनस्पति, र जैविक विविधताको अनुपम सौन्दर्यले गर्दा एक प्रमुख पर्या-पर्यकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। त्रेतायुगमा भगवान् शिवको धनुषको एक अंश खसेको धार्मिक विश्वासका कारण सदियौँदेखि तीर्थयात्रीहरूको आकर्षण बनेको यस क्षेत्रमा जनकपुरधामबाट करिब १८ किलोमिटर पूर्वमा रहेको धनुषाधाम वनस्पति उद्यानले नयाँ पहिचान थपेको हो। मन्दिर दर्शनका लागि आउने हजारौँ श्रद्धालुहरू मन्दिर दर्शनपश्चात् केही समय यस उद्यानमा बिताएर प्रकृतिको हरियाली र शान्त वातावरणमा नयाँ ऊर्जा प्राप्त गरी फर्कने गरेका छन्। सहरको कोलाहलबाट टाढा, चराचुरुङ्गीको मधुर स्वर, फूलहरूको सुगन्ध र शीतल स्पर्शले आगन्तुकहरूलाई एक जीवित सङ्ग्रहालयको अनुभूति गराउने यो उद्यान हाल धार्मिक पर्यटकका साथै विद्यार्थी, अनुसन्धानकर्ता, र प्रकृतिप्रेमीहरूको केन्द्र बनेको छ।

वन तथा वातावरण मन्त्रालयअन्तर्गत विक्रम संवत् २०५६ मा स्थापना भएको यस उद्यान करिब १२० हेक्टर क्षेत्रफलमा फैलिएको छ। अध्ययन, अनुसन्धान र वातावरणीय शिक्षाको उद्देश्यले स्थापित यस उद्यानमा पछिल्ला वर्षहरूमा पर्यटकहरूको आगमनमा उल्लेख्य वृद्धि भएको छ। उद्यानका कर्मचारी सुरेश भण्डारीका अनुसार विगतमा मुस्किलले दैनिक १० देखि २० जना पर्यटक आउने गरेकोमा अहिले दैनिक ३०० देखि ४०० को हाराहारीमा आन्तरिक, भारतीय पर्यटक तथा अध्ययन भ्रमणका लागि विद्यार्थीहरू आउने गरेका छन्। उद्यान अवलोकनका लागि हालसम्म कुनै शुल्क नलिइएकोमा अब भने मन्त्रालयको निर्देशनानुसार शुल्क निर्धारणको तयारी भइरहेको छ। उद्यानभित्र हाल २७६ प्रजातिका वनस्पतिहरू (७४ रुख, ४८ बुट्यान, १३४ झारपात र २० लहरे प्रजाति) संरक्षित छन्। उद्यानका प्रमुख ताहिर हुसेनका अनुसार यहाँ विभिन्न विषयगत वाटिकाहरू जस्तै: धार्मिक बाटिका, २७ नक्षत्र र ९ ग्रहसँग सम्बन्धित नक्षत्र बाटिका, जडीबुटी शैक्षिक बाटिका, धनुष बाटिका, जल उद्यान, र ‘ट्याक्सोनोमिकल फेमिली बाटिका’ निर्माण गरिएका छन्। यसका साथै अध्ययनकर्ताहरूका लागि सूचना केन्द्र र वनस्पतिको तेल प्रतिशत निर्धारण गर्ने केमिस्ट्री ल्याबसमेत सञ्चालनमा ल्याइएको छ।

धनुषाधाम वनस्पति उद्यानको यस रूपान्तरणले वातावरणीय सचेतना फैलाउनुका साथै स्थानीय अर्थतन्त्रमा समेत नयाँ सम्भावना र रोजगारी सिर्जना गरेको छ। सामाजिक सञ्जाल र पर्या-पर्यटनप्रतिको बढ्दो आकर्षणका कारण यहाँ आउने पर्यटकहरूको वृद्धिले स्थानीय होटल, रेस्टुरेन्ट, यातायात, र साना व्यवसायहरू फस्टाउन थालेका छन्। धनुषाधाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन भट्टराईले स्थानीय सरकारको तर्फबाट उद्यानको संरक्षण, प्रवर्द्धन र आवश्यक समन्वयमा पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्थानीय युवा तथा व्यवसायीहरूका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप प्रचार-प्रसार गर्दै डिजिटल गाइड, साइकल ट्रयाक, र अनुसन्धान प्रयोगशाला जस्ता पर्यटकमैत्री संरचना विस्तार गर्न सकिएमा यो उद्यान मधेश प्रदेशकै अग्रणी पर्या-पर्यटन गन्तव्य बन्ने निश्चित छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै