काठमाडौँ / बागमती विश्वविद्यालयअन्तर्गत स्नातक तहका विभिन्न सङ्काय तथा विषयहरूमा नयाँ भर्नाका लागि आवेदन दिने म्याद यही साउन ८ गतेसम्म थप गरिएको छ। यसअघि असार मसान्तसम्म मात्रै भर्नाका लागि आवेदन दिन सकिने व्यवस्था रहेकोमा कक्षा १२ उत्तीर्ण गरेका धेरै विद्यार्थीहरूको ‘ट्रान्सक्रिप्ट’ प्राप्त हुन ढिलाइ भएको गुनासो आएपछि विश्वविद्यालय प्रशासनले म्याद थप गर्ने निर्णय गरेको हो। विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज) का अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलका अनुसार विद्यार्थीहरूको शैक्षिक हित र सुविधालाई मध्यनजर गर्दै आवेदन दिने समयावधि साउन ८ गतेसम्म विस्तार गरिएको हो। विश्वविद्यालयले सेमेस्टर प्रणालीमा आधारित व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि, एवं शिक्षाशास्त्र तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गतका विभिन्न स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा नयाँ भर्ना आह्वान गरेको छ।
उच्च शिक्षाको अधिकार र पहुँचलाई प्रदेश तहमा हस्तान्तरण गर्ने राष्ट्रिय नीतिअनुरूप २०८१ साल जेठ २५ गते बागमती विश्वविद्यालयको स्थापना भएको थियो। स्थापनाको छोटो समयमै विश्वविद्यालयले अघिल्लो वर्षदेखि व्यवस्थापन र कानुन, विज्ञान तथा प्रविधि, एवं शिक्षाशास्त्र तथा सामाजिक विज्ञान सङ्कायमा स्नातक तहको पठनपाठन सफलताका साथ सुरु गरिसकेको छ। विश्वविद्यालयको प्रशासनिक कुशलताका कारण पहिलो सेमेस्टरको अध्यापन सकिएलगत्तै परीक्षा सञ्चालन गरी एक हप्ताभित्रै परीक्षाफल समेत प्रकाशित गरिएको थियो। हाल यस विश्वविद्यालयअन्तर्गत माडी क्याम्पस (चितवन), हेटौँडा क्याम्पस (मकवानपुर), जनमैत्री क्याम्पस (काठमाडौँ), भुवानीशङ्कर क्याम्पस (चितवन), चैतन्य क्याम्पस (काभ्रेपलाञ्चोक) र कपन क्याम्पस (काठमाडौँ) गरी ६ वटा आङ्गिक क्याम्पसहरू सञ्चालनमा रहेका छन्। यी सबै आङ्गिक क्याम्पसहरूमा गरी हाल कुल ५५० जना विद्यार्थीहरू अध्ययनरत रहेका छन्।






