निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त: विवाद र आलोचनाबिच निर्णय सार्वजनिक
शिक्षाखबर डेस्क
१३ घण्टा अगाडि
no immg

काठमाडौँ । काठमाडौँको बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को रिक्त कार्यकारी निर्देशक पदमा प्रा. डा. जितेन्द्र परियार नियुक्त हुनुभएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी आधिकारिक सूचनाअनुसार मन्त्रालयको गत असार ५ गतेको सूचनाबमोजिम परेका आवेदनहरूमध्येबाट छनोट तथा सिफारिस समिति र अस्पताल विकास समितिको निर्णयका आधारमा परियारलाई नियुक्त गरिएको हो। सिफारिस समितिको साउन ३ गतेको मूल्याङ्कन सिफारिस र अस्पताल विकास समितिको साउन ४ गतेको निर्णयानुसार योग्यताक्रमको पहिलो नम्बरमा पर्नुभएका प्रा. डा. परियारलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने अन्तिम निर्णय भएको मन्त्रालयले स्पष्ट पारेको छ

यसअघि, अस्पतालको कार्यकारी निर्देशक छनोटको प्रक्रिया सुरु भई सर्टलिस्ट सार्वजनिक भएसँगै प्रा. डा. जितेन्द्र परियारको नियुक्तिलाई लिएर नागरिक समाज, स्वास्थ्य क्षेत्रका विज्ञहरू र निजामती कर्मचारी वृत्तमा गम्भीर प्रश्न तथा चिन्ता व्यक्त गरिँदै आएको थियो। विगतमा उपचारका क्रममा बिरामीको घाँटीको क्यान्सरको साटो पाठेघर झिकिएको जस्तो गम्भीर चिकित्सकीय त्रुटि (Medical Negligence) र अन्य नैतिक विवादहरूमा उहाँको नाम मुछिएको विषयलाई लिएर नियुक्ति प्रक्रियाको निष्पक्षतामाथि नै व्यापक बहस सिर्जना भएको थियो। विवादित पृष्ठभूमि र राजनीतिक चलखेलका बिच व्यावसायिक निष्ठा तथा नैतिक सुशासनको माग भइरहेका बेला मन्त्रालय र अस्पताल विकास समितिले भने उहाँलाई नै सर्वोच्च योग्यताक्रमको आधार देखाउँदै अस्पतालको आगामी नेतृत्व सुम्पेका हुन्।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै