काठमाडौँ । देशका विभिन्न स्थानमा जारी अविरल वर्षा, बाढी, पहिरो तथा डुबानजस्ता प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै सङ्घीय सरकारले जिल्ला समन्वय समिति र स्थानीय तहमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई अनिवार्य रूपमा कार्यालयमा उपस्थित हुन कडा परिपत्र गरेको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र जारी गर्दै विपद्जन्य घटनाको प्रतिकार्य, उद्धार, राहत वितरण, र नागरिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीमा जुट्न निर्देशित गरेको हो। मन्त्रालयले विपद्को यो संवेदनशील समयावधिभर कुनै पनि कर्मचारीलाई बिदामा नबस्न, हाल बिदामा रहेकाहरूले समेत तत्काल बिदा छोट्याएर सम्बन्धित कार्यालयमा उपस्थित हुन र आफ्नो पदीय जिम्मेवारी सम्हाल्न स्पष्ट ताकेता गरेको छ।
मन्त्रालयद्वारा जारी चारबुँदे निर्देशनमा विपद्को यो संवेदनशील समयमा कर्मचारीहरूलाई आफ्नो कार्यालय नछाड्न र नियमित रूपमा उपस्थित भई आवश्यक समन्वय, सहजीकरण तथा निर्णय प्रक्रियामा सक्रिय रहन भनिएको छ। त्यसैगरी, विपद्सँग सम्बन्धित सूचना सङ्कलन, उद्धार तथा राहत कार्य, क्षतिको विवरण सङ्कलन र अन्य आवश्यक समन्वयका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, प्रदेश तथा सङ्घीय निकायहरूसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको छ। यदि कुनै विशेष परिस्थितिवश कार्यालय छाड्नै पर्ने अवस्था सिर्जना भएमा पनि सम्बन्धित माथिल्लो निकायको पूर्वस्वीकृति लिएर र आफ्नो जिम्मेवारीको उचित वैकल्पिक व्यवस्था गरेर मात्र कार्यालय छाड्न पाइने कडा सर्त राखिएको छ।






