हङकङ विश्वविद्यालयद्वारा ‘कार्डिओमिकस्कोर’ एआई प्रणाली विकास: लक्षण देखिनु १५ वर्षअघि नै मुटुरोगको जोखिम पत्ता लाग्ने
शिक्षाखबर डेस्क
१४ घण्टा अगाडि
no immg

काठमाडौँ / हङकङ विश्वविद्यालयको एलकेएस फ्याकल्टी अफ मेडिसिन (HKUMed) का अनुसन्धानकर्ताहरूले लक्षणहरू देखा पर्नुभन्दा धेरै वर्षअघि नै हृदयघात तथा गम्भीर मुटुरोगको जोखिम पूर्वअनुमान गर्न सक्ने नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (AI) प्रविधि विकास गरेका छन्। ‘कार्डिओमिकस्कोर’ (CardiOmicScore) नाम दिइएको यो अत्याधुनिक एआई प्रणालीले मानिसको रगतको एउटै मात्र नमूना परीक्षण (Blood Test) गरी भविष्यमा हुन सक्ने छ वटा मुख्य मुटुरोगहरूको जोखिम आकलन गर्न सक्दछ। यो प्रविधिले कोरोनरी आर्टरी डिजिज, मस्तिष्कघात (स्ट्रोक), हर्ट फेलियर, एट्रियल फाइब्रिलेसन, पेरिफेरल आर्टरी डिजिज र भेनस थ्रोम्बोएम्बोलिजम जस्ता गम्भीर मुटुरोगहरूको जोखिम १५ वर्ष अगावै पहिचान गर्न सक्ने क्षमता देखाएको छ। प्रसिद्ध वैज्ञानिक पत्रिका ‘नेचर कम्युनिकेसन्स’ (Nature Communications) मा प्रकाशित यस अनुसन्धानले आधुनिक चिकित्सा विज्ञान र एआईको संयोजनमा नयाँ तरङ्ग ल्याएको छ

विश्वभर हुने कुल मृत्युमध्ये मुटुरोग प्रमुख कारण रहँदै आएको र सन् २०२२ मा मात्रै करिब १ करोड ९८ लाख मानिसको यसैका कारण ज्यान गएको पृष्ठभूमिमा यो खोज अत्यन्त महत्त्वपूर्ण मानिएको छ। परम्परागत रूपमा चिकित्सकहरूले उमेर, रक्तचाप, धूम्रपानको बानी र वंशाणुगत (जेनेटिक) गुणहरूका आधारमा मुटुरोगको जोखिम मापन गर्दै आएका भए पनि ती मापनहरूले शरीरभित्र भइरहेका प्रारम्भिक जैविक परिवर्तनहरूलाई समयमै देखाउन सक्दैनथे। मानिसको डीएनए र जेनेटिक संरचना जन्मजात स्थिर रहने भएकाले त्यसले खानपान, व्यायाम, उमेर र वातावरणका कारण शरीरमा आउने तत्कालीन परिवर्तनहरूलाई प्रतिविम्बित गर्न सक्दैनथ्यो। तर ‘कार्डिओमिकस्कोर’ ले भने मानिसको हालको वास्तविक शारीरिक अवस्था र जैविक सङ्केतहरूलाई सूक्ष्म रूपमा विश्लेषण गरी सटीक विवरण प्रदान गर्दछ

यो एआई प्रणाली निर्माण गर्न अनुसन्धान टोलीले डीप लर्निङ (Deep Learning) प्रविधिको प्रयोग गरी जेनोमिक्स, प्रोटियोमिक्स र मेटाबोलोमिक्स जस्ता बहु-जैविक तहहरू (Multiomics) लाई आपसमा जोडेको छ। युके बायोबैंकको विशाल जनसाङ्ख्यिकीय डेटा विश्लेषण गर्दै एआई मोडलले रगतमा तैरिने २,९२० वटा प्रोटिन र १६८ वटा मेटाबोलाइट्सहरूको गम्भीर अध्ययन गरेको थियो। अनुसन्धान टोलीका प्रमुख एवं हङकङ विश्वविद्यालयका सह-प्राध्यापक प्रा. झाङ छिङपेङका अनुसार जीनले मानिसको प्रारम्भिक जोखिम तय गरे पनि प्रोटिन र मेटाबोलाइट्सले वर्तमान स्वास्थ्य अवस्थाको प्रतिनिधित्व गर्ने भएकाले यो प्रविधिले रोग लाग्नुअघि नै जीवनशैली परिमार्जन र पूर्वसतर्कता अपनाउन ठूलो मद्दत पुर्‍याउनेछ। चिकित्सकहरूले उपचारमा केन्द्रित हुने परम्परागत शैलीबाट माथि उठेर समयमै रोगको भविष्यवाणी र रोकथाम गर्ने आधुनिक ‘प्रिसिजन मेडिसिन’ तर्फ यो खोजलाई ठूलो सफलताका रूपमा लिएका छन्

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै