चितवन । भरतपुरस्थित प्रसिद्ध नारायणी नमुना माध्यमिक विद्यालयका गणित शिक्षक राज कुमार कंडेल देशकै सर्वोत्कृष्ट गणित शिक्षकका रूपमा सम्मानित हुनुभएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (NAST) का दिवङ्गत वैज्ञानिक स्व. विश्वनाथ प्रसाद अग्रवालको स्मृतिमा स्थापित ‘भिपी अग्रवाल साइन्स फाउन्डेसन’ ले प्रदान गर्ने प्रतिष्ठित “भिपी अग्रवाल राष्ट्रिय पुरस्कार” पहिलो पटक शिक्षक कंडेलले प्राप्त गर्नुभएको हो। वि.सं. २०८२ देखि सञ्चालनमा ल्याइएको यस ऐतिहासिक राष्ट्रिय पुरस्कारको राशि रु. २,२२,२२२ (दुई लाख बाइस हजार दुई सय बाइस) रहेको छ। देशभरका विभिन्न विद्यालयहरूबाट प्रतिस्पर्धामा उत्रिएका २०० जना दिग्गज गणित शिक्षकहरूलाई पछाडि पार्दै उहाँले यो सफलता हासिल गर्नुभएको हो।
यस राष्ट्रिय पुरस्कारका लागि फाउन्डेसनले अत्यन्तै पारदर्शी, कडा र चुनौतीपूर्ण छनोट मापदण्ड निर्धारण गरेको थियो। पुरस्कारको प्रतिस्पर्धामा सहभागी हुन शिक्षकले विगत ५ वर्षदेखि निरन्तर कक्षा १० मा अध्यापन गराएको, तराई क्षेत्रको हकमा प्रति-कक्षा कम्तीमा ५० जना विद्यार्थी सङ्ख्या रहेको र विगत ३ वर्षको नतिजामा कम्तीमा ८० प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको उत्कृष्ट ट्र्याक रेकर्ड हुनुपर्ने कडा सर्त राखिएको थियो। यी प्रारम्भिक चरणहरू पार गरेका उत्कृष्ट शिक्षकहरूबिच प्रतिष्ठित विषयविज्ञहरू (Subject Experts) को प्रत्यक्ष रोहबरमा कक्षा सञ्चालन (Live Class Demonstration) गराएर व्यावहारिक परीक्षा लिइएको थियो, जसमा शिक्षक कंडेलको शिक्षण कला, प्रविधिमैत्री प्रस्तुति र विद्यार्थी केन्द्रित शैली सर्वोत्कृष्ट ठहरिएको थियो।
भरतपुर-१, रामनगर निवासी शिक्षक राज कुमार कंडेल २०७५ साल पौष २२ गतेदेखि नारायणी नमुना मा.वि.मा निरन्तर अध्यापन गराउँदै आउनुभएको छ। उहाँको सरल र प्रभावकारी शिक्षण विधिका कारण विद्यालयमा गणित विषयको समग्र नतिजा सधैँ माथिल्लो स्तरमा रहने गरेको छ। देशकै पहिलो र ऐतिहासिक पुरस्कार आफ्ना शिक्षकले प्राप्त गरेपछि नारायणी नमुना माध्यमिक विद्यालय परिवारले खुसी व्यक्त गर्दै बधाई अर्पण गरेको छ। मोफसलमा रहेर पनि निष्ठापूर्वक काम गर्दा राष्ट्रिय स्तरको प्राज्ञिक उचाइ हासिल गर्न सकिन्छ भन्ने कुरालाई यस उपलब्धिले पुनः पुष्टि गरेको शैक्षिक क्षेत्रका जानकारहरू बताउँछन्।






