सन् २०२६ को ईपीएस कोरिया भाषा परीक्षाका लागि आवेदन खुला: ७ हजारभन्दा बढी कामदार छनोट गरिने
शिक्षाखबर डेस्क
११ घण्टा अगाडि
no immg

ललितपुर /  वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले सन् २०२६ को ‘प्वाइन्ट बेस्ड सेलेक्सन सिस्टम’ (Point Based Selection System) अन्तर्गत पहिलो चरणको कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको साउन ४ गतेको निर्णयअनुसार गणतन्त्र कोरियामा रोजगारीका लागि योग्य नेपाली कामदार छनोट गर्ने उद्देश्यले आवेदन आह्वान गरिएको हो। शाखाका अनुसार यस चरणमा उत्पादनमूलक, कृषि तथा पशुपालन, सेवा, र वन क्षेत्र गरी करिब ७ हजार २ जना परीक्षार्थीहरूलाई भाषा परीक्षामा उत्तीर्ण गराउने अनुमान गरिएको छ। आवेदन सङ्कलन पूरा भई कुल आवेदक सङ्ख्या निर्धारण भएपछि परीक्षाको मिति र तालिका कार्यालयको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिनेछ भने आवश्यकताअनुसार एक दिनमा पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्न सकिने प्रबन्ध मिलाइएको छ।

क्षेत्रगत रूपमा उत्पादनमूलक (Manufacturing) क्षेत्रका लागि सबैभन्दा बढी ५ हजार जना, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार जना, र सेवा तथा वन क्षेत्रका लागि १००/१०० जना उत्तीर्ण गराइनेछ। फाराम भर्दा आवेदकले तोकिएका क्षेत्रहरूमध्ये कुनै एक क्षेत्र र सोभित्रको उपक्षेत्र अनिवार्य रूपमा छनोट गर्नुपर्नेछ भने पहिलो चरण उत्तीर्ण गरेपछि क्षेत्र परिवर्तन गर्न पाइने छैन। पहिलो चरणको भाषा परीक्षा उत्तीर्ण गर्नु मात्र रोजगारीको अन्तिम ग्यारेन्टी नभएको स्पष्ट पार्दै शाखाले परीक्षार्थीहरू दोस्रो चरणको सीप परीक्षण (Skill Test) र कार्यक्षमता मूल्याङ्कन (Job Capacity Assessment) मा समेत सफल भएपछि मात्र अन्तिम छनोट सूचीमा पर्ने जनाएको छ। कोरियाली रोजगारदाताको माग र एचआरडी (HRD) कोरियाले तोक्ने कट-अफ अङ्कका आधारमा उत्तीर्ण सङ्ख्यामा हेरफेर हुनसक्नेछ।

आवेदनका लागि सन् १९८६ जुलाई २८ देखि सन् २००८ जुलाई २७ बिच जन्मिएका (१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका) नेपाली नागरिकहरू योग्य हुनेछन्। यसका साथै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, कोरियाबाट गैरकानुनी रूपमा फिर्ता नपठाइएको, नेपाल सरकारले विदेश जान रोक नलगाएको र कोरियामा ई-९ वा ई-१० भिसामा ५ वर्षभन्दा बढी अवधि नबसेको हुनुपर्ने योग्यता निर्धारण गरिएको छ। आवेदनसम्बन्धी विस्तृत कार्यविधि र सूचना ईपीएस कोरिया शाखाको आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै