कृषि मन्त्री गीता चौधरी र एफएओ निर्देशक हुआ याङबिच शिष्टाचार भेटवार्ता: खाद्य सुरक्षा र दिगो कृषि प्रणालीमा सहकार्य गर्ने प्रतिबद्धता
शिक्षाखबर डेस्क
९ घण्टा अगाडि
no immg

काठमाडौँ / कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (FAO) की निर्देशक हुआ याङले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटका क्रममा उहाँहरूबिच नेपालमा खाद्य सुरक्षाको सुदृढीकरण, कृषि रूपान्तरण, दिगो कृषि-खाद्य प्रणालीको विकास तथा दक्षिण-दक्षिण एवं त्रिपक्षीय सहयोग विस्तारका विविध विषयहरूमा गहन छलफल भएको छ। भेटका अवसरमा मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रको आधुनिक रूपान्तरण, खाद्य सुरक्षा तथा अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनका लागि एफएओसँगको दीर्घकालीन सहकार्यलाई अझ विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो।

छलफलका क्रममा सीमापार पशुरोग नियन्त्रण, जलवायु परिवर्तन अनुकूलन कृषि विकास, कृषि प्रयोगशालाहरूको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला स्थापना गर्ने विषयमा फलदायी कुराकानी भएको मन्त्रालयले जनाएको छ। यसैगरी उच्च मूल्यका कृषि उपजहरूको अन्तर्राष्ट्रिय निर्यात प्रवर्द्धन गर्ने र भौगोलिक सङ्केत (Geographical Indication) सम्बन्धी कानुनी तथा संस्थागत व्यवस्थालाई सुदृढ तुल्याउने विषयमा समेत दुवै पक्षबिच छलफल भएको छ। भेटको अन्त्यमा दुवै पक्षले नेपालमा दिगो, उत्थानशील तथा समावेशी कृषि र खाद्य प्रणालीको विकासका लागि द्विपक्षीय साझेदारीलाई अझ सशक्त बनाउने साझा प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै