हुम्लाको डाँफे आधारभूत विद्यालयका भवन पहिरोले भत्काएपछि त्रिपालमुनि पढ्न बाध्य विद्यार्थी: ३० लाख बजेट स्वीकृत
शिक्षाखबर डेस्क
४ घण्टा अगाडि
no immg

हुम्ला /हुम्लाको चङ्खेली गाउँपालिका–५ स्थित नेप्कागाउँमा रहेको डाँफे आधारभूत विद्यालयको भौतिक भवन पहिरोले पूर्ण रूपमा भत्काएपछि विद्यार्थीहरू खुला चौरमा त्रिपालमुनि बसेर पठनपाठन गर्न बाध्य भएका छन्। गत जेठ ५ गते राति आएको विनाशकारी पहिरोले विद्यालयका कुल छ वटा भवनमध्ये पाँच वटा भवन ध्वस्त पारेपछि पठनपाठन अस्तव्यस्त बनेको हो। पहिरोपछि केही सहयोगी मनहरूको सहयोगमा चौरमा अस्थायी त्रिपाल टाँगेर अप्ठेरो अवस्थामा कक्षा सञ्चालन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक बली तामाङले जानकारी दिनुभयो। पर्याप्त जग्गाको अभाव रहेको यस विद्यालयमा हाल कक्षा ४, ५, ६ र ७ का विद्यार्थीहरूलाई त्रिपालमुनि राखेर पढाइँदै आएको छ।

कक्षा ८ सम्म अध्यापन गराइने यस विद्यालयमा कुल ८३ जना विद्यार्थीहरू अध्ययनरत रहेका छन्। एउटा त्रिपालभित्र १२ देखि २० जनासम्म विद्यार्थीहरू खाँदिएर बस्नुपर्ने बाध्यता छ भने बाँकी तल्लो र माथिल्लो कक्षाका विद्यार्थीहरूलाई जेनतेन पहिरोबाट जोगिएको एउटा मात्रै भवनमा राखेर पढाउने गरिएको छ। खुला आकाशमुनिभन्दा त्रिपालमुनि केही ओत लागे पनि पठनपाठनका लागि उपयुक्त र अनुकूल वातावरण भने बन्न नसकेको प्रधानाध्यापक तामाङको भनाइ छ। गत जेठको सोही पहिरोले नेप्कागाउँका स्थानीय बासिन्दाहरूको खेतीयोग्य जग्गा तथा भेडाहरूसमेत बगाएर ठूलो क्षति पुर्‍याएको थियो।

पहिरोग्रस्त विद्यालयको पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले सामाजिक विकास कार्यालयमार्फत रु ३० लाख बजेटको व्यवस्था गरेको छ। यो बजेटबाट नयाँ सुरक्षित भवन निर्माण गरी विद्यार्थीहरूलाई चाँडोभन्दा चाँडो सुरक्षित र व्यवस्थित कक्षाकोठामा फर्काउने तयारी भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै