सुर्खेत / कर्णाली प्रदेशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू तीव्र रूपमा बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले साउन महिनाभर मानसिक स्वास्थ्यसम्बन्धी व्यापक सचेतना फैलाउन सरोकारवालाहरूलाई आग्रह गरेको छ। मङ्गलबार सरोकारवाला निकाय तथा पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै कार्यालयले यस गम्भीर स्वास्थ्य चुनौतीको रोकथाम तथा न्यूनीकरणका लागि समाजका सबै पक्षबिच बलियो सहकार्य हुनुपर्नेमा जोड दिएको छ। कार्यक्रममा कार्यालय प्रमुख करुणा भट्टराईले मानसिक स्वास्थ्यप्रति समयमै ध्यान दिन नसके यसले व्यक्ति, परिवार र सिङ्गो समाजमा गम्भीर असर पुर्याउने बताउनुभयो। उहाँले मानसिक स्वास्थ्य समस्या र यसकै कारण हुने आत्महत्याका घटनाहरू रोक्नका लागि सुरुवाती अवस्थामै सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो।
अन्तरक्रिया कार्यक्रममा सिएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले व्यक्तिमा सकारात्मक सोच, उच्च आत्मसम्मान र जीवनमा आउने चुनौतीहरूसँग सामना गर्न सक्ने क्षमताको विकास गराउनु पर्नेमा जोड दिनुभयो। मानसिक समस्या देखिएका व्यक्तिहरूलाई बेलैमा उचित सहयोग पुर्याउन र आवश्यक परेको खण्डमा आत्महत्या रोकथामसम्बन्धी राष्ट्रिय हटलाइन ११६६ को प्रयोग गर्न उहाँले आह्वान गर्नुभयो। मानसिक स्वास्थ्यप्रतिको सामाजिक बुझाइमा सुधार ल्याउन स्थानीय तह तथा विद्यालयहरूमा निरन्तर सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिने जानकारीसमेत उहाँले दिनुभयो।
यसैबिच, सोही कार्यक्रमको फरक प्रसङ्गमा जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ मलेरिया निरीक्षक उदय बिसीले पछिल्लो समय फैलिन सक्ने डेङ्गु रोगको जोखिमप्रति सचेत गराउनुभयो। उहाँले डेङ्गुबाट बच्नका लागि आफ्नो घरआँगन सधैँ सफा राख्न, खुला भाँडाकुँडामा पानी जम्न नदिन र लामखुट्टेको बासस्थान खोजेर नष्ट गर्ने (Search and Destroy) अभियानमा सहभागी हुन सबैमा आग्रह गर्नुभयो।






