चितवन प्रशासनमा राष्ट्रिय परिचयपत्र भर्नेको अत्यधिक चाप: बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सेवा दिइने, कार्ड वितरण स्थगित
शिक्षाखबर डेस्क
४ घण्टा अगाडि
no immg

चितवन / चालु आर्थिक वर्षको सुरुवातसँगै राष्ट्रिय परिचयपत्रको फोटो खिचाउने (Enrollment) र कार्ड लिने सेवाग्राहीहरूको अत्यधिक चाप बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सेवा प्रवाहको समय र व्यवस्थापनमा परिमार्जन गरेको छ। साउन ७ गतेदेखि लागु हुने गरी प्रशासनले दैनिक सेवा प्रवाहको समय बढाएर बिहान ८:०० बजेदेखि साँझ ७:०० बजेसम्म विस्तार गरेको छ। कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमका अनुसार दैनिक करिब ७५० जना सेवाग्राहीलाई टोकन प्रणालीका आधारमा व्यवस्थित रूपमा दर्ता सेवा प्रदान गर्ने प्रबन्ध मिलाइएको छ।

सेवाग्राहीको उच्च भीडलाई मध्यनजर गर्दै प्रशासनले कार्ड वितरण कार्य भने केही दिनका लागि स्थगित गर्ने निर्णय गरेको छ। विगतमा विवरण दर्ता गरी राष्ट्रिय परिचयपत्र नम्बर (NIN) प्राप्त गरिसकेका नागरिकहरूले सोही नम्बरका आधारमा आफ्ना सम्पूर्ण सरकारी तथा प्रशासनिक कामहरू सम्पादन गर्न सक्ने भएकाले केही दिनका लागि कार्ड वितरण नगरिने स्पष्ट पारिएको छ। यसका साथै, अनलाइन दर्ता (Enrollment) पश्चात् परिचयपत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कार्य भइरहेका कारण स्वीकृत (Approve) हुन केही ढिलाइ भइरहेको जनाउँदै स्वीकृत प्रक्रिया क्रमशः हुँदै जाने भएकाले सेवाग्राहीहरूलाई बारम्बार कार्यालयमा धाइरहनु नपर्ने प्रशासनले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै