भारतमा विद्यार्थी आन्दोलनमाथि प्रहरी दमन भएको आरोप: विपक्षी नेता राहुल गान्धीद्वारा प्रधानमन्त्री मोदीको राजीनामा माग
शिक्षाखबर डेस्क
२ घण्टा अगाडि
no immg

नयाँदिल्ली / भारतका प्रमुख विपक्षी नेता तथा लोकसभाका विपक्षी दलका नेता राहुल गान्धीले शिक्षा र परीक्षा प्रणाली सुधारको माग गर्दै भएको विशाल विद्यार्थी आन्दोलनमाथि प्रहरीले कडा दमन गरेको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गर्नुभएको छ। काङ्ग्रेस नेता गान्धीले मङ्गलबार प्रधानमन्त्री निवास नजिकै अन्य विपक्षी सांसदहरूसँग प्रदर्शन गर्दै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले भारतका युवाको भविष्य जोखिममा पारेको र सरकार न त जवाफदेहिता लिन तयार छ न त संसदमा यस विषयमा बहस गर्न इच्छुक छ भन्दै राजीनामा दिनुपर्ने बताउनुभयो। सोमबार नयाँ दिल्लीको जन्तर-मन्तरमा भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच भएको हिंसात्मक झडपमा करिब ६० जना प्रदर्शनकारी र ११८ जना प्रहरी घाइते भएका थिए।

पछिल्लो पाँच वर्षयताकै ठुलो सडक प्रदर्शनका रूपमा हेरिएको यो आन्दोलन ‘ककरोच जनता पार्टी’ (CJP) नामक अनलाइन अभियानको आह्वानमा सुरु भएको हो, जसले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र परीक्षा प्रणाली सुधारको माग राख्दै हजारौँ विद्यार्थीहरूलाई सडकमा उतारेको छ। मे महिनादेखि सामाजिक सञ्जालबाट सुरु भई ठुलो समर्थन जुटाएको यस अभियानका प्रवक्ता आशुतोष राङ्का र संस्थापक अभिजीत दिपकेले शिक्षा प्रणालीमा व्यापक सुधार नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पारेका छन्। मेडिकल तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाहरूमा निरन्तर भइरहेका प्रश्नपत्र चुहावट र अनियमितताका घटनाहरूले विद्यार्थी र अभिभावकहरूमा चरम असन्तुष्टि बढाएपछि यो आन्दोलन चर्किएको हो।

प्रहरीले आन्दोलन नियन्त्रण गर्न अश्रुग्यास र लाठीचार्ज गरेको छ भने प्रदर्शनकारीहरूले लोकतान्त्रिक अधिकारमाथि दमन भएको आरोप लगाएका छन्। यता, विपक्षी दलहरूले विद्यार्थीमाथि भएको दमनबारे संसदमा छलफलको माग गरेपछि मङ्गलबार संसद् बैठकसमेत अवरुद्ध भएको छ। संसदीय मामिला मन्त्री किरेन रिजिजुले सरकारले परीक्षा अनियमितताविरुद्ध तत्काल कडा कदम चालेर दोषीहरूमाथि कारबाही गरिसकेको दाबी गरे पनि प्रधानमन्त्री मोदीले भने हालसम्म यस विषयमा कुनै सार्वजनिक प्रतिक्रिया दिनुभएको छैन।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै