चिकित्सा शिक्षा आयोगको निर्देशक पदको संक्षिप्त सूची सार्वजनिक: साउन ८ गते राष्ट्रिय योजना आयोगमा प्रस्तुतीकरण र अन्तर्वार्ता हुने
शिक्षाखबर डेस्क
३ घण्टा अगाडि
no immg

काठमाडौँ / चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि संक्षिप्त सूची (Short List) मा परेका १२ जना उम्मेदवारहरूको सूची तथा उनीहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता कार्यक्रम सम्बन्धी आधिकारिक सूचना सार्वजनिक गरिएको छ। आयोगको सिफारिस समितिले मिति २०८३ असार २६ गते प्रकाशित दरखास्त आह्वान सम्बन्धी सूचना बमोजिम प्राप्त आवेदनहरूको मूल्याङ्कन गरी यो सूची कायम गरेको हो। ‘चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न उम्मेदवार छनोटसम्बन्धी कार्यविधि, २०८३’ अनुसार उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव, सोचपत्र, र निर्देशक पदसँग सम्बन्धित दक्षता एवं व्यावसायिकताको मूल्याङ्कनमा सर्वोच्च अङ्क प्राप्त गर्ने १२ जना प्राध्यापक डाक्टरहरूलाई वर्णानुक्रमानुसार छनोट गरिएको हो।

छनोट भएका उम्मेदवारहरूमा प्रा.डा. दयाराम पोखरेल (बर्दिया), प्रा.डा. दिपेन्द्र बहादुर श्रेष्ठ (काठमाडौँ), प्रा.डा. दलिप शर्मा (भक्तपुर), प्रा.डा. बिनोद कुमार यादव (महोत्तरी), प्रा.डा. मृगेन्द्र अमात्य (ललितपुर), प्रा.डा. रविन्द्रमान श्रेष्ठ (ललितपुर), प्रा.डा. विष्णु प्रसाद शर्मा (ललितपुर), प्रा.डा. संघरत्न बज्राचार्य (काठमाडौँ), प्रा.डा. सञ्जय कुमार श्रेष्ठ (काठमाडौँ), प्रा.डा. सन्ध्या चापागाईं आचार्य (भक्तपुर), प्रा.डा. सुरज बज्राचार्य (काठमाडौँ), र प्रा.डा. सैलेस प्रधान (ललितपुर) रहेका छन्।

संक्षिप्त सूचीमा परेका सबै उम्मेदवारहरूका लागि आगामी २०८३ साउन ८ गते शुक्रबारका दिन सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा प्रस्तुतीकरण र अन्तर्वार्ता कार्यक्रम तोकिएको छ। उम्मेदवारहरूलाई तीन फरक समूहमा विभाजन गरी बिहान ८:०० बजे, बिहान ११:०० बजे, र अपराह्न २:०० बजे प्रस्तुतीकरणका लागि समय निर्धारण गरिएको छ। अन्तर्वार्तामा सहभागी हुन आउँदा आवेदनसाथ संलग्न सबै कागजातका सक्कल प्रति र सोचपत्रको प्रस्तुतीकरणका लागि १५ मिनेट अवधिको पावरपोइन्ट प्रिजेन्टेसन (PowerPoint Presentation Slide – Electronic Copy) अनिवार्य रूपमा साथमा लिई तोकिएको समयभन्दा कम्तीमा १ घण्टा अगावै उपस्थित हुन समितिले निर्देशन दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै