भारतमा प्रश्नपत्र लीक प्रकरण: दिल्लीमा विद्यार्थी आन्दोलन झनै चर्कियो, थप २० कम्पनी सीआरपीएफ तैनाथ
शिक्षाखबर डेस्क
४ घण्टा अगाडि
no immg

नयाँदिल्ली / भारतमा मेडिकल प्रवेश परीक्षा (NEET) को प्रश्नपत्र लीक प्रकरण र शिक्षा क्षेत्रको सुधारको माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलन बुधबार झनै चर्किएको छ। ‘ककरोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा दिल्लीको जन्तर-मन्तरमा बुधबार बिहानैदेखि हजारौँको सङ्ख्यामा प्रदर्शनकारीहरू भेला भएका छन्। माग पूरा नभए लाखौँ मानिस सडकमा उतार्ने चेतावनी सीजेपीले दिएको छ। आन्दोलनलाई ध्यानमा राख्दै दिल्ली प्रहरीले संसद भवन र रफी मार्ग लगायतका प्रमुख क्षेत्रमा कडा ब्यारिकेड लगाएको छ। सुरक्षा व्यवस्था चुस्त बनाउन गृह मन्त्रालयले पश्चिम बङ्गालबाट केन्द्रीय आरक्षित प्रहरी बल (CRPF) का थप २० कम्पनी (करिब २,००० जवान) लाई हवाईजहाजमार्फत आकस्मिक रूपमा दिल्ली ल्याई तैनाथ गर्न आदेश दिएको छ। सोमबारको ‘चलो संसद’ मार्चका क्रममा भएको हिंसा र तोडफोडबारे अनुसन्धान गर्न प्रहरीले ६ वटा एफआइआर दर्ता गरी ‘ठूलो आपराधिक षड्यन्त्र’ भए/नभएकोबारे अनुसन्धान अघि बढाएको छ। सोमबार निषेधाज्ञा र मेट्रो स्टेसन बन्दका बाबजुद प्रदर्शनकारी संसदतर्फ अघि बढेपछि स्थिति तनावग्रस्त बनेको थियो र प्रहरीको लाठीचार्जमा परी घाइते भएका धेरै विद्यार्थीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमा एक छात्राको आइसियूमा उपचार भइरहेको छ। दिल्ली प्रहरीका अनुसार ११८ जना प्रहरी जवान पनि घाइते भएका छन्।

यसबीच भारतको लोकसभाका विपक्षी नेता राहुल गान्धीले मङ्गलबार प्रहरी हिरासतमा रहेकै बेला छत्रसाल स्टेडियमबाट भिडिओ सन्देश जारी गर्दै सरकारसमक्ष ५ बुँदे माग अघि सार्नुभएको छ। प्रधानमन्त्री निवास बाहिर धर्ना दिँदा पक्राउ परेका गान्धीले गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, शान्तिपूर्ण प्रदर्शनमा रहेका विद्यार्थीमाथि दमन गर्नेमाथि कारबाही, आन्दोलनका क्रममा लगाइएका मुद्दा खारेज, संसदमा तत्काल बहस, र विद्यार्थी दमनका लागि प्रधानमन्त्री मोदी र गृहमन्त्रीले माफी माग्नुपर्ने माग गर्नुभएको छ। मङ्गलबार राहुल गान्धीसहित प्रियंका गान्धी र अखिलेश यादव लगायतका शीर्ष नेताहरूलाई नियन्त्रणमा लिएर केही बेरपछि छाडिएको थियो।

विपक्षी नेताहरूको कदमप्रति कडा आपत्ति जनाउँदै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राहुल गान्धी र कांग्रेस पार्टीले विद्यार्थीहरूलाई राजनीतिक हतियार बनाएर संसदको मनसुन अधिवेशन अवरुद्ध गर्न खोजेको आरोप लगाउनुभएको छ। सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै उहाँले सरकार संसदमा सबै विषयमा छलफल गर्न तयार भइसकेको अवस्थामा पनि कांग्रेसले लोकतान्त्रिक बहस छाडेर सडक प्रदर्शन रोजेको र उहाँहरूको उद्देश्य समस्या समाधान भन्दा पनि राजनीतिक चर्चा बटुल्नु मात्र रहेको टिप्पणी गर्नुभएको छ। उता जन्तर-मन्तरमा आन्दोलनरत विद्यार्थीहरूलाई समर्थन गर्न शिवसेना (युबिटी) का नेता उद्धव ठाकरे र तृणमूल कांग्रेसकी सांसद महुवा मोइत्रा पुगेका छन्। विपक्षी शीर्ष नेताहरूको गिरफ्तारी र विद्यार्थीमाथि भएको प्रहरी दमनको विरोधमा केरला, असम र उत्तर प्रदेशमा पनि देशव्यापी प्रदर्शन सुरु भएको छ। संसद भवन क्षेत्रमा थप प्रदर्शन हुन सक्ने आशङ्कामा सुरक्षा व्यवस्था अत्यन्त कडा बनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै