दिल्लीको विद्यार्थी आन्दोलन बिहारमा पनि सल्कियो: पटनामा प्रहरी र विद्यार्थीबिच उग्र झडप, पानीको फोहरा र अश्रुग्यास प्रहार
शिक्षाखबर डेस्क
४ घण्टा अगाडि
no immg

काठमाडौँ / भारतको राजधानी दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा आयोजित प्रदर्शनका क्रममा प्रहरी र विद्यार्थीबिच उग्र झडप भएको छ। ‘अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन’ (आइसा) को आह्वानमा बुधबार निकालिएको जुलुसलाई प्रहरीले रोकेपछि स्थिति तनावग्रस्त बनेको हो। पटनास्थित गान्धी मैदानको गेट नम्बर १० बाट राजभवनतर्फ अघि बढेको प्रदर्शनकारीहरूको मार्चलाई जेपी गोलम्बर नजिकै प्रहरीले अवरोध गरेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको थियो। प्रहरीको कारबाहीका बाबजुद अघि बढेका विद्यार्थीहरूले डाकबंगला चोक पुगेर ‘गोदी मिडिया गो ब्याक’ भन्दै चर्को नाराबाजी गरेका थिए।

झडपका क्रममा केही सञ्चारकर्मीसमेत घाइते भएका छन्। जेपी गोलम्बरको प्रदर्शन सकिएको केही घण्टामै आइसाको ब्यानरमा पुनः भेला भएका विद्यार्थीहरूले डाकबंगला चोकबाट राजभवनतर्फ अघि बढ्ने प्रयास गरेका थिए। यस प्रदर्शनमा आइसासँगै अन्य विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो। प्रदर्शनका क्रममा विद्यार्थीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधान र बिहारका शिक्षामन्त्री मिथिलेश तिवारीको राजीनामा माग गरेका छन्।

यसका साथै आन्दोलनकारीहरूले प्रश्नपत्र चुहावटमा संलग्न दोषीहरूमाथि कडा कारबाही, शिक्षाको निजीकरण र भ्रष्टाचारको अन्त्य, जन्तर-मन्तरमा जारी दिल्ली आन्दोलनप्रति ऐक्यबद्धता, ७.५ सीजीपीएको अनिवार्यता खारेजी, शुल्कवृद्धि फिर्ता, नन-नेट फेलोसिप लागू हुनुपर्ने तथा पटना विश्वविद्यालयको स्वायत्तता कायम राख्नुपर्नेजस्ता प्रमुख मागहरू अघि सारेका छन्।

प्रतिक्रिया
सम्बन्धित खबर
भर्खरै