काठमाडौँ / चीनको एआई स्टार्टअप कम्पनी ‘मुनशट’ (Moonshot) ले २.८ ट्रिलियन प्यारामिटर (Trillion Parameters) क्षमता भएको अत्याधुनिक एआई मोडल ‘किमी के३’ (Kimi K3) सार्वजनिक गरेको छ। चिनियाँ प्रविधि दिग्गज कम्पनीहरू अलिबाबा र टेन्सन्टको ठुलो लगानी रहेको मुनशटले विकास गरेको यो मोडलले अमेरिकी एआई कम्पनीहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने क्षमता राख्दछ। कोडिङ, बौद्धिक कार्य र जटिल तर्क (Reasoning) मा क्षमतावान् यो मोडल आगामी जुलाई २७ मा ‘ओपन-सोर्स’ (Open-source) को रूपमा विश्वभरका लागि उपलब्ध गराइनेछ। यो निर्णयसँगै किमी के३ विश्वमै ३ ट्रिलियन प्यारामिटर श्रेणीको पहिलो यस्तो मोडल बन्नेछ जसलाई बाह्य डेभलपरहरूले नि:शुल्क डाउनलोड गरी आफ्नै आवश्यकता अनुसार परिमार्जन गर्न सक्नेछन्।
चीनमाथि अमेरिकाले उच्च प्रविधियुक्त हार्डवेयर तथा चिप्स बिक्रीमा विभिन्न प्रतिबन्धहरू लगाएको भए पनि चिनियाँ कम्पनीहरूले आफ्नै बलमा द्रुत गतिमा प्रगति गरिरहेका छन्। अमेरिकी कम्पनीहरू ओपनएआई र एन्थ्रोपिकका मोडलहरू बन्द वा सीमित (Closed Systems) रहेका बेला किमी के३ को खुला प्रकृतिले सिलिकन भ्यालीको व्यावसायिक वर्चस्वलाई नै चुनौती दिएको छ। ‘आर्टिफिसियल एनालाइटिक्स’ र ‘अरेना डट एआई’ (Arena.ai) जस्ता स्वतन्त्र संस्थाहरूले गरेका परीक्षणहरूमा किमी के३ को कार्यक्षमता अमेरिकाका शीर्ष एआई मोडलहरूसँग बराबरीको स्तरमा देखिएको छ। विशेष गरी वेब इन्टरफेस इन्जिनियरिङ र न्यूनतम मानव सुपरीवेक्षणमा आफैँ कोडिङ गर्ने क्षमतामा यसले उत्कृष्ट प्रदर्शन गरेको छ।
यो नयाँ मोडलको आगमनले एआई बजारमा ठुलो तरङ्ग ल्याइदिएको छ। मुनशटको यस औपचारिक घोषणा लत्तै हङकङ सेयर बजारमा यसका प्रतिस्पर्धी चिनियाँ कम्पनीहरू ‘झिपु’ (Zhipu) र ‘मिनीम्याक्स’ (MiniMax) को सेयर मूल्य क्रमशः २७ प्रतिशत र १६ प्रतिशतले ओरालो लागेको छ। अमेरिकी सरकारले भर्खरै एआई मोडलहरूलाई राष्ट्रिय सुरक्षाको महत्वपूर्ण पूर्वाधारका रूपमा वर्गीकरण गर्दै नियमन कडा बनाइरहेको संवेदनशील समयमा किमी के३ को यो खुला सार्वजनिकले विश्वव्यापी प्रविधि क्षेत्रमा नयाँ तरङ्ग सिर्जना गरेको छ।






