धनुषामा बफर कोटाको रासायनिक मल वितरण सुरु: साउन दोस्रो सातासम्म अभाव पूर्ण रूपमा हट्ने
शिक्षाखबर डेस्क
३ घण्टा अगाडि
no immg

जनकपुरधाम / धान रोपाइँको मुख्य सिजनमा रासायनिक मलको अभाव झेलिरहेका धनुषाका किसानहरूलाई लक्षित गरी कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामले मधेस प्रदेश सरकारद्वारा निर्धारित ‘बफर’ कोटाको युरिया र डिएपी मल वितरण सुरु गरेको छ। प्रदेश सरकारको असार ३१ गतेको निर्णयअनुसार स्थानीय तहहरूको सिफारिसका आधारमा बफर कोटाको मल बिक्री वितरण अघि बढाइएको हो। कार्यालयका सूचना अधिकारी बेचन साहका अनुसार मल वितरणसँगै जिल्लामा केही समय अघिसम्म रहेको डिएपी मलको अभाव विस्तारै हट्दै गएको छ भने साउन दोस्रो सातासम्म थप युरिया र डिएपी मल आइपुग्ने भएकाले मलको समस्या पूर्ण रूपमा समाधान हुनेछ।

कार्यालयले पछिल्लो एक वर्षको अवधिमा १८ हजार ७४५ दशमलव एक मेट्रिक टन रासायनिक मल किसानहरूलाई वितरण गरिसकेको छ। आर्थिक वर्ष २०८२/८३ मा प्राप्त भएकामध्ये ११ हजार २४१ दशमलव ३५० मेट्रिक टन युरिया, छ हजार ९६३ दशमलव ३०० मेट्रिक टन डिएपी, ३७९ दशमलव ५५० मेट्रिक टन पोटास, र १६० दशमलव ९०० मेट्रिक टन कृषि चुन किसानहरूसम्म पुर्याइएको छ। समीक्षा वर्षमा कार्यालयलाई १० हजार ६१८ दशमलव ५०० मेट्रिक टन युरिया, सात हजार २८९ मेट्रिक टन डिएपी, ४६३ मेट्रिक टन पोटास, र २३५ मेट्रिक टन कृषि चुन प्राप्त भएको थियो।

धान रोपाइँको याममा किसानको मागअनुसार मलको नियमित आपूर्ति, मौज्दात व्यवस्थापन, र वितरण प्रक्रियालाई पारदर्शी एवं व्यवस्थित बनाइएको कार्यालय प्रमुख ध्रुव चौधरीले बताउनुभयो। मौज्दात व्यवस्थापनलाई प्रभावकारी बनाउँदै किसानहरूको थप माग सम्बोधन गर्न माथिल्लो निकायसँग आवश्यक समन्वय भइरहेको र केही दिनभित्रै थप मल जनकपुरधाम आइपुग्ने उहाँको भनाइ छ।

प्रतिक्रिया
सम्बन्धित खबर