काठमाडौँ / काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा पन्छीहरूमा फैलाएर किसानहरूलाई चिन्तित बनाएको ‘बर्डफ्लु’ (Avian Influenza) सङ्क्रमण पछिल्लो समय पूर्ण रूपमा नियन्त्रणमा आउन थालेको छ। पशु सेवा विभागका अनुसार गत साउन १ गतेदेखि देशका कुनै पनि भागमा बर्डफ्लुको नयाँ सङ्क्रमण देखिएको छैन। पछिल्लो पटक काठमाडौँको गोकर्णेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण भेटिएपछि विभागले प्रभावित वरपरका क्षेत्रहरूबाट नमुना सङ्कलन गरी तीव्र रूपमा परीक्षण जारी राखेको छ। विभागका महानिर्देशक डा. उमेश दाहालले हाल स्थिति पूर्ण नियन्त्रणमा रहेको र थप सङ्क्रमण फैलिने सम्भावना अत्यन्त न्यून रहेको जानकारी दिनुभयो।
विभागको तथ्याङ्कअनुसार गत चैत ४ गते केन्द्रीय पशु पन्छी रोग अन्वेषण प्रयोगशालामा पिसिआर (PCR) विधिबाट गरिएको परीक्षणमा मोरङको उर्लाबारी–८ र सुन्दरहरैँचा–४ मा पहिलोपटक बर्डफ्लु पुष्टि भएपछि कृषि तथा पशु पन्छी विकास मन्त्रालयले प्रभावित क्षेत्र घोषणा गरेको थियो। हालसम्म देशका ११ जिल्लाका कमर्सियल लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा यो रोग फैलिएको थियो। काठमाडौँ उपत्यका बाहेकका सात जिल्लामा रोग पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने काठमाडौँ उपत्यका (काठमाडौँमा ३२, भक्तपुरमा ४५, र ललितपुरको सदर चिडियाखानासहित १५ स्थान) र काभ्रेपलाञ्चोक (२७ स्थान) गरी कुल ११९ स्थानमा सङ्क्रमण देखिएको थियो।
विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार रोग नियन्त्रणका क्रममा देशभर आठ लाख ३५ हजार ५६३ वटा पन्छी, ११ लाख ६५ हजार ६६३ वटा अण्डा र दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको थियो। प्रभावित कृषकहरूलाई राहत दिन सरकारले ५० करोड बजेट रकमान्तर गरी कुल ५२ करोड रुपियाँ व्यवस्थापन गरेकामा हालसम्म १०४ जना कृषक तथा फर्मको खातामा ५० करोड ७१ लाख १५ हजार ७०४ रुपियाँ राहत रकम सोझै निकासा गरिसकिएको छ। सङ्क्रमण नियन्त्रणमा आएसँगै बजारमा कुखुराको मासु र अण्डाको खपत पुनः बढ्न थालेको छ, जसले गर्दा बर्डफ्लुका कारण चल्ला र उत्पादन नष्ट गर्न बाध्य भई मारमा परेका किसानहरूले उचित मूल्य पाउन थालेका छन्।






