अर्घाखाँची / अर्घाखाँची जिल्लाका बाँदरबाट अति प्रभावित २६ वटा क्षेत्रमा कृषि बालीको संरक्षण तथा बाँदर व्यवस्थापनका लागि डिभिजन वन कार्यालय अर्घाखाँचीले ‘बाँदर हेरालु’ नियुक्तिको प्रक्रिया अघि बढाएको छ। वन सम्वर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन गरेका समूहहरूको लागत साझेदारीमा कार्य सम्पादन गर्ने गरी कार्यालयले सूचना प्रकाशित गरी इच्छुक योग्य नागरिकहरूबाट दरखास्त आह्वान गरेको हो। प्रारम्भिक चरणमा थपघट हुन सक्ने गरी २० जना बाँदर हेरालु छनोट गरिनेछ। छनोट भएका व्यक्तिहरूले २०८३ साउन १० गतेदेखि २०८३ असोज १० गतेसम्म दुई महिनाका लागि बाँदर प्रभावित क्षेत्रहरूमा खटिएर काम गर्नुपर्नेछ।
बाँदर हेरालु पदका लागि सम्बन्धित प्रभावित क्षेत्रकै स्थायी बासिन्दा, ४५ वर्ष ननाघेको, र वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा रुचि भएको हुनुपर्ने योग्यता तोकिएको छ। सामुदायिक वन, वन हेरालु वा नर्सरी हेरालुका रूपमा काम गरिसकेका अनुभवी व्यक्तिहरूलाई प्राथमिकता दिइने डिभिजनल वन अधिकृत नारायणदेव भट्टराईले जानकारी दिनुभयो। नियुक्त हुने हेरालुहरूले बाँदरको नियमित निगरानी गर्ने, किसानहरूलाई पूर्वसूचना दिने, बाली क्षतिको अभिलेख राख्ने, र बाँदरलाई मानवीय एवं वातावरणमैत्री तरिकाले खेतीयोग्य जमीनबाट प्राकृतिक बासस्थानतर्फ धपाउने मुख्य जिम्मेवारी पाउनेछन्। यस कार्यबापत उनीहरूले मासिक १२ हजार ५ सय रुपियाँ पारिश्रमिक प्राप्त गर्नेछन्।






