देशभर मनसुनी वायुको प्रभाव कायम: पहाडदेखि तराईसम्म वर्षा र भारी वर्षाको सम्भावना
शिक्षाखबर डेस्क
३ घण्टा अगाडि
no immg

काठमाडौँ / देशभर मनसुनी वायुको प्रभाव निरन्तर कायम रहँदा शुक्रबार पनि देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ। अहिले देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदलीको अवस्था छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रही तराईमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भेगका केही स्थानहरूका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। विशेष गरी लुम्बिनी प्रदेशका पहाडी भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली तथा पहाडी भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका तराईका एकदुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र र पहिरोग्रस्त पहाडी इलाकामा बसोबास गर्ने नागरिकहरूलाई आवश्यक पूर्वसतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अपिल गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खबर