काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिनुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा ‘अर्गानिक एसोसिएसन नेपाल’ का पदाधिकारीहरूसँग भएको छलफलका क्रममा प्रधानमन्त्री शाहले कृषि मन्त्रालयमार्फत आवश्यक बजेट विनियोजन गरी प्रमाणीकरणको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिनुभएको हो। नेपाली अर्गानिक उत्पादन विदेश निर्यात गर्दा हाल जर्मनी र भारतमा रहेका अन्तर्राष्ट्रिय एजेन्सीहरूबाट प्रमाणीकरण गराउनुपर्ने बाध्यता रहेको छ, जसका लागि व्यवसायीहरूले क्षेत्रफल अनुसार ८ लाखदेखि १२ लाख रुपियाँसम्म खर्चिंदै आएका छन्। नेपालमै सरकारको नियन्त्रणमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणीकरण एजेन्सी स्थापना भएमा आधा खर्चमै र बिना कुनै झन्झट समयमै प्रमाणीकरण भई चिया, कफी, अदुवा, र बेसार जस्ता कृषि उपज निर्यात गर्न सहज हुने व्यवसायीहरूको भनाइ छ।
छलफलमा सहभागी हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनालीका अनुसार बजेट विनियोजन गरी प्रक्रिया सुरु गरेमा तीन वर्षभित्र नेपालबाटै अन्तर्राष्ट्रिय स्तरको प्रमाणीकरण सम्भव हुनेछ। सो अवसरमा व्यवसायीहरूले अर्गानिक उत्पादन निर्यातमा दुई वर्षदेखि रोकिएको ७५ प्रतिशतसम्मको अनुदान पुनः सुचारु गर्न र रासायनिक मलको तुलनामा अर्गानिक मलमा अनुदान अत्यन्तै न्यून रहेकाले त्यसलाई वृद्धि गर्न माग गरेका थिए। सरकारले रासायनिक मलका लागि वार्षिक करिब ३२ अर्ब अनुदान दिने गरे तापनि अर्गानिक मलका लागि करिब १ करोड ४० लाख मात्रै उपलब्ध गराएको भन्दै व्यवसायीहरूले उक्त अनुदानको ठुलो हिस्सा अर्गानिक क्षेत्रमा स्थानान्तरण गर्न सुझाव दिएका छन्।
प्रधानमन्त्री शाहले अनियन्त्रित रासायनिक मल र विषादी प्रयोग नियन्त्रण गर्दै नेपाललाई अर्गानिक कृषिको केन्द्र बनाउन सरकारले ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अर्गानिक मल उत्पादन वा खरिदमा रासायनिक मलसरह सुविधा उपलब्ध गराउन तथा प्राङ्गारिक मल उत्पादन गर्ने निजी उद्योग एवम् सहकारीहरूलाई अनुदान दिने विषयमा उहाँ सकारात्मक हुनुभएको छ। साथै, रोकिएको निर्यात अनुदान कानुनी रूपमै निराकरण गर्न सम्बन्धित मन्त्रालयले कार्यविधि बनाइरहेको जानकारी दिँदै नेपालमै एजेन्सी नबनुन्जेलसम्मका लागि अनुदान उपलब्ध गराउनेबारे आवश्यक कदम चालिने उहाँले स्पष्ट पार्नुभयो। उक्त छलफलमा एसोसिएसनका अध्यक्ष दीपक बास्कोटा, महासचिव शान्ता बास्कोटा कोइराला, गोर्खा टी स्टेटका अध्यक्ष उदय चापागाईं, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीका अध्यक्ष पर्शुराम आचार्य लगायतको उपस्थिति रहेको थियो।






