कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) रामपुरमा विदेशी विद्यार्थी भर्ना लिने तयारी अन्तिम चरणमा
शिक्षाखबर डेस्क
३ घण्टा अगाडि
no immg

चितवन / चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) ले स्नातक तहमा विदेशी विद्यार्थी भर्ना लिने गरी सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्‍याएको छ। यही साता स्नातक तहको नयाँ भर्ना खुल्न लागेकाले विश्वविद्यालयले नीतिगत रूपमा अन्तिम निर्णय गरेर विदेशी विद्यार्थीका लागि भर्ना आह्वान गर्ने गृहकार्य गरिरहेको हो। विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाका अनुसार भर्नासम्बन्धी विषयमा सरोकारवालाहरूसँग भइरहेको बहुपक्षीय छलफल अन्तिम चरणमा पुगे पनि कोटा सङ्ख्या र शुल्क ढाँचाबारे अन्तिम औपचारिक निर्णय भने हुन बाँकी रहेको छ।

विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तर निर्धारण (International Ranking) को मापदण्डमा उभ्याउनका लागि विदेशी विद्यार्थीहरूको अध्यापन र अनुसन्धानमा सहभागिता अनिवार्य आधार मानिन्छ। यसअघि कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थीहरूका लागि छोटो अवधिको अनुसन्धान तथा सीप विकास तालिम सञ्चालन गर्दै आए तापनि शैक्षिक उपाधि (Degree) नै प्राप्त गर्ने गरी पूर्णकालीन स्नातक कार्यक्रममा विदेशी विद्यार्थी भर्ना लिएको थिएन।

विश्वविद्यालयले आफ्ना प्रमुख तीन वटा सङ्कायअन्तर्गतका चार वटा कार्यक्रमहरू—कृषि (B.Sc. Ag), वन विज्ञान (B.Sc. Forestry), र पशु चिकित्सा तथा मत्स्य विज्ञान (B.V.Sc. & A.H. र B.Sc. Fisheries) मा विदेशी विद्यार्थी भर्ना लिने तयारी गरेको हो। नीतिगत स्पष्टता, आवास तथा शुल्क व्यवस्थापन सम्बन्धी निर्णय हुनासाथ औपचारिक सूचना प्रकाशन गरिने विश्वविद्यालय प्रशासनले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर