अर्थ मन्त्रालयको परिपत्रपछि रतुवामाई नगरपालिकाद्वारा सिँचाइ महसुल र विपन्नको स्वास्थ्य बीमा भुक्तानी पूर्ण रूपमा बन्द
शिक्षाखबर डेस्क
३ घण्टा अगाडि
no immg

मोरङ / अर्थ मन्त्रालयले वितरणमुखी कार्यक्रमहरू रोक्न कडा परिपत्र जारी गरेपछि मोरङको रतुवामाई नगरपालिकाले कृषकहरूको कृषि सिँचाइ विद्युत महसुल र विपन्न नागरिकहरूको स्वास्थ्य बीमाबापतको शुल्क भुक्तानी गर्ने व्यवस्था पूर्ण रूपमा बन्द गरेको छ। मन्त्रिपरिषद्को निर्णय र अर्थ मन्त्रालयको निर्देशनअनुसार ग्यास, साइकल, स्वास्थ्य बीमा शुल्क, विद्युत महसुल भुक्तानी, ह्यान्डपम्प, तथा साडी वितरण जस्ता पपुलिस्ट र वितरणमुखी कार्यक्रमहरू सञ्चालन गर्न नपाइने भएपछि नगरपालिकाले यस्तो कदम चालेको हो।

रतुवामाई नगर कार्यपालिकाको बैठकले साउन १ गतेदेखि लागु हुने गरी यसअघि नगरपालिकाले बेहोर्दै आएको कृषि सिँचाइ मिटरको विद्युत महसुल र विपन्न नागरिकको स्वास्थ्य बीमा शुल्क भुक्तानी दिने कार्य बन्द गर्ने निर्णय गरेको हो। प्रमुख प्रशासकीय अधिकृत डम्मरु वल्लभ बरालद्वारा साउन ६ गते जारी सार्वजनिक सूचना अनुसार अब उप्रान्त कृषक तथा विपन्न नागरिकहरू स्वयंले नै नियमअनुसार विद्युत महसुल र स्वास्थ्य बीमा शुल्क भुक्तानी गर्नुपर्नेछ। एकाएक सुविधाहरू खोसिएपछि नगरबासीमा पर्न जाने असुविधाप्रति नगरपालिकाले क्षमायाचनासमेत गरेको छ।

अर्थ मन्त्रालयका सचिव घन्श्याम उपाध्यायद्वारा हस्ताक्षरित परिपत्रमा सार्वजनिक संस्थानहरूमा रिक्त कार्यकारी प्रमुख पदमा काजमा कर्मचारी खटाउने, महँगा इलेक्ट्रोनिक्स तथा विलासी सामग्री खरिद नगर्ने, र सर्वसाधारणमा असन्तोष बढाउने वितरणमुखी सुविधाहरू रोक्ने कडा निर्देशन दिइएको छ। यसका साथै मन्त्रालयले गैरकर तथा कर राजस्व असुलीलाई प्रभावकारी बनाउन र अन्तिम लेखा परीक्षणबाट असुलउपर गर्न तोकिएको बेरुजु रकम तुरुन्त असुल गर्न सबै निकायका प्रमुखहरूलाई अनुगमनको जिम्मेवारी सुम्पिएको छ।

प्रतिक्रिया
सम्बन्धित खबर